पोखरा, वैशाख २९ (ई-रैवार)
गण्डकी प्रदेशमा मुख्यमन्त्रीको समयसमीमा आज सकिँदैछ । प्रदेश प्रमुख सीता पौडेलले दलहरूलाई नयाँ सरकार गठनका लागि आज दिउँसो ४ बजेसम्मको समय दिएको हो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गत आइतबार राजीनामा दिएपछि सोही दिन प्रदेश प्रमुख पौडेलले दलहरूलाई नयाँ सरकार गठनका लागि आज दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् ।
निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको तीन दिनको समयसमीमा सकिँदै जादाँ गण्डकी प्रदेशमा मुख्यमन्त्रीको चयन आज हुने भएको हो ।
प्रदेश प्रमुखले दिएको समयसीमा भित्र दलहरूले बहुमत पुर्याई नयाँ मुख्यमन्त्रीको नाम सिफारिस गर्नुपर्ने छ ।
६० सदस्यीय प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ सांसद छन् । नयाँ सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवार्दी (पार्टी) जसपा नेपालको विपक्षी गठबन्धन नयाँ सरकार बनाउन लागिपरेको छ । तर, नयाँ सरकार बनाउन राष्ट्रिय जनमोर्चा पार्टी निर्णायक छ ।
जनमोर्चाले अविश्वासको प्रस्तावमा समर्थन गर्ने भन्दै सरकारको समर्थन फिर्ता लिएपछि कांग्रेस, माओवादी केन्द्र र जसपाका २७ सदस्यले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
जनमोर्चाका सांसद कृष्ण थापाले विपक्षी दलहरूले नयाँ सरकार गठनका लागि गरेको प्रस्तावमा हस्ताक्षर गर्न नमानेपछि गठबन्धनलाई बहुमत नपुग्ने भएको छ । विपक्षी गठबन्धनमा कुनै चमत्कमार नभए गुरुङ नै मुख्यमन्त्री हुनेछन् ।
पार्टीको निर्देशनविपरिरत सांसद थापाले हस्ताक्षर गर्न अस्वीकार गरेको जनमोर्चाकी सांसद पियारी थापाले बताइन् । उनले पार्टीको निर्देशन नमान्नेमाथि कारबाही हुने पनि बतााएकी छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि पार्टी निर्देशन नमान्नेलाई कारबाही गर्ने बताएका छन् ।
नयाँ गठबन्धनमा हस्ताक्षर गर्न अस्वीकार गरेका सांसद थापाले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।
राजमोले पनि अविश्वास प्रस्तावमा समर्थन जनाउने भएपछि नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।
मुख्यमन्त्रीको राजीनामापछि विपक्षी गठबन्धन नेपालीको नेतृत्वमा सरकार बनाउने गरी ३१ जना सांसदको हस्ताक्षर बुझाउने प्रयासमा छ । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी छन् ।


