कांग्रेस नेता लेखकले भेटे भागरथीका आफन्तलाई, आर्थिक सहयोग प्रदान

कांग्रेस नेता लेखकले भेटे भागरथीका आफन्तलाई, आर्थिक सहयोग प्रदान
Spread the love

बैतडी, फागुन २ (ई-रैवार)

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग गरेका छन ।

मृतक भागरथीका आफन्तसँग भेटघाट गर्दै कांग्रेस केन्द्रीय सदस्य लेखकले भागरथीकी आमा द्रोपति भट्टलाई नेपाली कांग्रेसका तर्फबाट आर्थिक सहयोगस्वरुप नगद २ लाख रुपैयाँ प्रदान गरेका हुन्।

मृतककी आमालाई केही सहज होस् भनेर पार्टीका तर्फबाट सहयोग गरिएको नेता लेखकले बताए। भागरथी हत्याको विषयमा सत्यतथ्य बुझ्न बैतडी पुगेका लेखकले दोगडाकेदार गाउँपालिका चडेपानीमै गएर भागरथीका आफन्तसँग भेटघाट गरेका हुन्।

नेपाली कांग्रेसले भागरथी हत्याका विषयमा सत्यतथ्य बुझ्न कांग्रेस केन्द्रीय सदस्य लेखकलाई बैतडी खटाएको थियो। सोहीअनुसार शनिबार बैतडी पुगेका लेखकले आइतबार भागरथीका आफन्तलाई भेटका हुन्।

भेटघाटका क्रममा नेता लेखकले भागरथीका हत्यारा पत्ता लगाउन आफ्नो पार्टीले सबै पक्षबाट सहयोग गर्ने बताए।
‘भागरथीका हत्यारा पत्ता लगाउन हामीले सम्पूर्ण सहयोग गर्छौं’ उनले भने, ‘राज्य पक्षलाई पनि हामीले दोषी छिटो पत्ता लगाई कारबाही गर्न आग्रह गरेका छौँ।’

हत्यारा पत्ता लगाउने कार्य सबैको प्राथमिकतामा रहेको बताउँदै नेता लेखकले महिलामाथि हुने जुनसुकै प्रकारका हिंसाविरुद्ध आफ्नो पार्टी लागिपरेको बताए। ‘अहिलेको प्राथमिकता भागरथीका हत्यारा पत्ता लगाउनु हो’ उनले भने, ‘यसमा हामी सक्दो सहयोग गर्छौँ।’

नेता लेखकले भागरथी हत्या प्रकरणको अनुसन्धान गरिरहेका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीसँग अनुसन्धानका बारेमा जानकारी समेत लिएका छन्।  लेखकले भागरथी हत्या प्रकरणको अनुसन्धान गरिरहेका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी सुवेदीसँग अनुसन्धानमा ढिलाई नगरी छिटो दोषी पत्ता लगाउन आग्रह गरे।

लेखक भागरथीका आफन्तसँग भेटघाट गरेपछि घटनाको बिषयमा पार्टीको केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउने उद्देश्यले बैतडी पुगेका हुन्।