ममाथि शारीरिक हमला भए अनौठो नमान्‍नू : प्रधानमन्त्री ओली

ममाथि शारीरिक हमला भए अनौठो नमान्‍नू : प्रधानमन्त्री ओली
Spread the love

काठमाडौं, फागुन १७ (ई-रैवार)

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफूमाथि लगातार प्रहार भइरहेको रशारीरिक हमला हुनसक्ने बताएका हुन ।

“सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । ममाथि शारीरिक हमला नै भयो, मेरो ज्यान तलमाथि भयो भने पनि अन्यथा नमान्नुहोला ।” प्रधानमन्त्री ओलीले भने आफू नरहे पनि अन्यथा नमान्‍नसमेत कार्यकर्तालाई सान्त्वना दिएका छन् । उनले थपे, “तर त्यस्तो हुँदैन । म रहिनँ भने पनि अन्यथा नमान्नुहोला, पार्टी छ, विचार छ। देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।”

देशी विदेशी शक्तिले हमला गरिरहे पनि पार्टी कार्यकर्तामा कुनै अलमल नभएको भन्दै उनले धन्यावाद दिए । उनले भने, “यत्रो हमला भइरहेको छ, देशी विदेशी शक्ति लागिरहेका छन् । तर, पनि पार्टी कार्यकर्तामा अलमल, दुविधा छैन । यो ठीक ढंगले अगाडि बढीरहेको छ, बढ्छ ।”

उनले आफ्नो अपमान गर्न आफूमाथि झुटा लान्छाना लगाइएको दाबी गर्दै भने, “मेरो अपमान कसरी गर्न सकिन्छ । झुटा लाञ्छना कसरी लगाउन सकिन्छ । झुटा लान्छनाको प्रचार किन ? यो मसँग मात्रै सम्बन्धित छैन् । यो पार्टी र आन्दोलनसँग सम्बन्धित छ ।”

आफूले पार्टीमा बहुमत नरहेको टिप्पणी गर्दै भने, ‘मैलै पार्टी एकता गर्दा बहुमत हेरिनँ । किनभने म अध्यक्ष थिएँ । पार्टी एकताका लागि केही हेरिनँ । एकीकरण सकिनेबित्तिकै उहाँहरूले आफ्नो धन्दा सुरू गर्नुभयो । पार्टी कब्जा गर्ने, आन्दोलन ध्वस्त पार्ने ।”

प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटी आफूले बनाएको र आवश्यक परेका बेला त्यसमाथि पनि औंला चलाउन सक्ने टिप्पणीसमेत गरेका छन् । जुन हातले नाम लिएको हो त्यसले काट्न पनि सक्ने भन्दै उनले भने, “देवप्रसाद गुरुङलाई मैले प्रमुख सचेतक बनाएको हुँ, मैले हटाएँ । उहाँहरुले भनेको केन्द्रीय कमिटी पनि मैले बनाएको हुँ । जरुरी परेका बेला अहिलेसम्म औंला चलाएको छैन् है । उहाँहरूको पद केही पनि चलाइदिएको छैन ।”