धनगढी, भदौ ३१ (ई-रैवार)
सञ्चारगृह र पत्रकारमाथि आक्रमणबारे अध्ययन गर्न नेपाल पत्रकार महासंघको मिसन टोली कैलाली आउने भएको छ । नेपाल पत्रकार महासंघले विज्ञप्ती जारी गर्दै पत्रकारमाथि अन्धाधुन्ध आक्रमण गरी घाइते बनाइएको घटनाहरूबारे कैलालीमा स्थलगत अध्ययनका लागि महासंघको मिसन टोली पठाउने निर्णय गरेको हो ।
दिनेश संचार गृहका पत्रकारमाथि अन्धाधुन्ध आक्रमण गरी घाइते बनाइएको घटनासहित कैलालीमा भएका प्रेस स्वतन्त्रता हननका घटनाहरूबारे स्थलगत अध्ययनका लागि नेपाल पत्रकार महासंघले मिसन टोली कैलाली पठाएको महासंघका केन्द्रिय अघ्यक्ष गोबिन्द्र आर्चायले बताए ।
महासंघका महासचिव रमेश विष्टको नेतृत्व रहेको टोलीमा सचिव रामप्रसाद दाहाल, सुदूरपश्चिम प्रदेशबाट केन्द्रिय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, कैलाली जिल्ला अध्यक्षलगायत सहभागी हुनेछन् ।
टोलीले घटनाका सम्बन्धमा स्थलगत रूपमा अध्ययन गरी पीडित पक्ष, स्थानीय प्रशासन, प्रहरी, सरोकारवाला, पत्रकार लगायतसँग छलफल गरी सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ ।
समाचारको विषयलाई लिएर गत शुक्रवार धनगढीको दिनेश सञ्चारगृहमा प्रवेश गरेर एक समूहले समाचार कक्षमै पत्रकारलाई कुटपिट गर्नुका साथै कर्मचारीमाथि हातपात र दुर्व्यवहार गरेको थियो। सञ्चारमाध्यममा आक्रमण गर्ने मध्येका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै कैलालीमा पत्रकारहरु चरणबद् रुपमा आन्दोलनमा रहेका छन् ।



