काठमाडौं, पुस ५ (ई-रैवार)
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री ओलीले संसद विघटन सिफारिस गरेका हुन् ।
बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।
यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए । तर प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ ।
बालुवाटार पुगे प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।
मन्त्रिपरिषद बैठक चलिरहँदा प्रचण्ड, प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । दुई अध्यक्षबीच छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए ।


