कक्षा १२ को परीक्षा ९ मंसिरदेखि, कोरोना संक्रमित विद्यार्थीलाई छुट्टै व्यवस्था

कक्षा १२ को परीक्षा ९ मंसिरदेखि, कोरोना संक्रमित विद्यार्थीलाई छुट्टै व्यवस्था
Spread the love

काठमाडौं, कार्तिक ६ (ई-रैवार) 

नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ ।

परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको हो ।

परीक्षा समय विहान ८ बजे सुरु हुने भएको छ । शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने अध्यक्ष पौडेलले जानकारी दिए ।

कोरोना संक्रमितलाई छुट्टै व्यवस्था 

कोभिड–१९ संक्रमित विद्यार्थीलाई भने बोर्डले परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । संक्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डले जनाएको छ ।

‘कोरोना संक्रमित भई उपचाररत परीक्षार्थीहरूलाई परीक्षामा सहभागी नहुन अनुरोध गरिन्छ’ बोर्डले भनेको छ, ‘त्यस्ता परीक्षार्थीहरूका लागि नेपाल सरकारद्वारा मान्यता प्राप्त प्रयोगशालामा परीक्षण गरिएको ल्याब रिर्पोटको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था गरिनेछ ।’

कोरोना महामारीका कारण आफू अध्ययन गरेको विद्यालय रहेको जिल्ला भन्दा फरक जिल्लामा रही आफ्नो विद्यालयमा उपस्थित भएर परीक्षा दिन नसक्ने विद्यार्थीका लागि परीक्षार्थीले यसअघि पेश गरेको विवरणको आधारमा परीक्षामा सहभागी हुने व्यवस्था गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

४० प्रतिशतको मात्रै परीक्षा हुने

परीक्षा बोर्डले ४० प्रतिशतको मात्रै परीक्षा सञ्चालन गर्न लागेको हो । ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार बोर्डले २०७६ वा त्यसभन्दा अघि लिइएको कक्षा ११ को वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिकतर्फ प्राप्त गरेको विषयगत प्राप्तांकलाई १०० प्रतिशत मानी सोको ४० प्रतिशत अंकभार कक्षा १२ को मूल्यांकनमा जोडिने छ ।

त्यस्तै, कक्षा १२ मा अध्ययनका क्रममा विद्यालयबाट गरिएको आन्तरिक मूल्यांकनको अङ्कभार सैद्धान्तिकतर्फको कूल पूर्णाङ्कलाई १०० प्रतिशत मानेर सोको २० प्रतिशत हुने बोर्डले जनाएको छ । विद्यार्थीको गृहकार्य, कक्षाकार्य, परियोजना कार्य, सामुदायिक कार्य, अतिरिक्त क्रियाकलाप, सामूहिक कार्य, इकाई परीक्षा, त्रैमासिक परीक्षा जस्ता मूल्यांकनका साधनहरूको प्रयोग गर्नुपर्ने सदस्य सचिव अर्यालले जानकारी दिए । यो समाचार अनलाइन खबरमा प्रकाशित भएको छ ।

हेर्नुहोस् परीक्षा  तालिका