कर्णाली नदीको तटबन्ध २ वर्ष नबित्दै भत्कियो, राजापुर उच्च जोखिममा

कर्णाली नदीको तटबन्ध २ वर्ष नबित्दै भत्कियो, राजापुर उच्च जोखिममा
Spread the love

 

बाँके, भदौ ३ (ई-रैवार) 

कर्णाली नदी व्यवस्थापन आयोजना अन्तर्गत निर्माण भएको तटबन्ध २ वर्ष नबित्दै नदीले भत्काएको छ । २ सय मिटर लामो तटबन्ध भत्काएपछि बर्दियाको राजापुर नगरपालिकालगायत आसपासका दर्जनौं गाउँ बाढी र कटानको उच्च जोखिममा परेका हुन् ।

राजापुरमा बाढी र कटान रोक्न आर्थिक वर्ष २०७२– ०७३ मा करिब ८ सय मिटर लामो तटबन्ध ६ करोड ८६ लाख ४० हजारको लागतमा निर्माण भएको थियो । तीमध्ये २ सय मिटरभन्दा बढी तटबन्ध नदीले भत्काएको छ ।

सरकारको प्राथमिकतामा परेको कर्णाली आयोजनाको काम गुणस्तरहीन भएकाले दुई वर्षमै भत्किएको स्थानीयवासीको गुनासो छ । तटबन्ध बगाएपछि यस क्षेत्रका खेतीयोग्य जमिन कर्णाली नदीले कटान गरिरहेको स्थानीयवासीले बताएका छन् । तटबन्ध बगाएको ठाउँबाट करिब तीन सय मिटर परसम्म कटान भइरहेको बताइएको छ । कटान रोकिएन भने सिङ्गो राजापुर बजार उच्च जोखिममा पर्ने देखिएको छ ।’

कर्णाली नदीको बाढीले २०७० सालमा बर्दियाको राजापुर क्षेत्र डुबानमा परेको थियो । त्यसपछि २०७१ सालमा कर्णाली नदी व्यवस्थापन आयोजना स्थापना गरी नदी नियन्त्रणको काम भइरहेको छ । नदी कटान रोक्ने प्रयास भइरहेको आयोजनाले जनाएको छ । आव ०७१–०७२ मा ५ वर्षभित्रमा करिब ७३ किमी तटबन्ध गर्ने लक्ष्यका साथ आयोजनाले काम शुरु गरेको थियो । हालसम्म करिब १७ किमी तटबन्धको काम सम्पन्न भएको छ ।

केही दिनदेखि भइरहेको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव उच्च भएपछि तीव्र रुपमा कटान भइरहेको छ । कटानका कारण नदीको बाढी बस्तीमा पस्ने डरले स्थानीयवासी रातभर जागराम बस्दै आएको स्थानिय बताउछन् । अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा अस्थायी रुपमा तटबन्ध बनाउन व्यस्त छन् । आयोजना र निर्माण कम्पनीकै कारण राजापुर कटान र बाढीको उच्च जोखिममा रहेको स्थानीय जनप्रतिनिधिको आरोप छ ।