भारतमा नेपाली कामदारको बिचल्ली

भारतमा नेपाली कामदारको बिचल्ली
Spread the love

काठमाण्डौ वैशाख २६

राजकुमार नाम गरेका नेपाली आप्रबासी जीवनमा कहिल्यै अहिलेजस्तो तनावमा थिएनन् । तेलांगना राज्यस्थित भोगिंरका यी बासिन्दा दुर्घटनामा परेपछि स्पाइन इन्जुरीबाट ग्रस्त छन्, जसकारण उनको शरीर राम्ररी चल्दैन । श्रीमतीको खुट्टा भाँचिएर विकलांग भएकी छिन् ।

समयको यो निर्मम प्रहारपछि उनीहरु आफ्ना किशोरावस्थाका दुई छोराको कमाइमा आश्रित हुनुपर्ने अवस्थामा पुगे, जसले घर चलाउन होटलमा काम गर्थे । अहिले यी दुबैले लकडाउनका कारण रोजिरोटी गुमाएका छन् । परिवारमा थप तनाव थपियो ।

यस्तो अवस्थाका बाबजुद उनीहरुले भारतको केन्द्रीय सरकारले विपन्न परिवारका लागि घोषणा गरेको राहत पाएनन् किनकी उनीहरु भारतीय नागरिक होइनन् ।राजकुमार र उनकी श्रीमती नेपालबाट १२ वर्षअघि कामको खोजीमा तेलांगाना आएका आप्रवासी हुन् । उनीहरु एक शहरबाट अर्को शहर घुम्दै भोगिंर आएर बसे ।

‘हामीले आफ्नो छिमेकीसँग हार गुहार गरेर ५ किलो चामल माग्यौं । प्रहरीले रासन बाँड्दैछ भन्ने सुनेपछि मेरा छोराहरु कुदेर गए । तर उल्टै लकडाउन उल्लंघन गरेको भन्दै कुटाइ भेटे ।’

यस्तो कठिन परिस्थिति सामना गर्ने उनी एक्लो होइनन् । भोगिंरमा यस्ता १ सय ५० नेपाली आप्रवासी छन्, जसको रोजिरोटी खोसिएको छ । मानवअधिकार फोरम (एचआरएफ) ले मुख्य सचिव सोमेश कुमारलाई लेखेको पत्रमा उनीहरु नागरिकताका कारण कुनै सहयोग पाउन बन्चित रहेको उल्लेख छ । रासन लिएर समुदायमा पुग्ने एचआरएफको प्रयास पनि असफल भएको छ । ‘हाम्रो नजिकका स्वयंमसेवक ३० देखि ४० किलोमिटर टाढा छन् । लकडाउनको कडा नियमका कारण धेरै मेहिनत गर्दा गर्दै पनि उनीहरु त्यहाँ पुग्न असफल छन्,’ हैदरावादका स्वयंम्सेवक सइद बिलालले भने ।

हैदरावादमा पनि १ हजारभन्दा धेरै नेपाली आप्रवासी छन् । उनीहरु ड्राइभर, फास्ट फुडमा कुक, होटलमा सहायक, सुरक्षाकर्मी र अन्य काममा छन् । धेरै महिलाहरु घरायसी काममा सहयोगीका रुपमा खटिएका छन् ।

बन्जारा हिल्स, एसी गार्डस्, फस्र्ट लान्सर, मल्लेपल्ली, शान्तिनगर, विजयनगर कोलोनीलगायत क्षेत्रमा बस्नेहरुले सरकारबाट कुनै सहयोग पाएका छैनन् । अधिकांश कामदार यहाँ १० वर्षदेखि बस्दै आएका छन् र यो अवधिमा दुर्लभ रुपमा नेपाल फर्किएका छन् । ‘म यहाँ विवाहपछि १८ वर्षअघि आएको थिएँ । मेरी आमा र दाजु पनि यहाँ बस्छन् र मैले कहिल्यै फर्केर जानुपर्ने अवश्यकता देखेको थिइँन । तर लकडाउनले परिस्थिती निकै कठिन पारिदिएको छ,’ आफ्ना श्रीमान्को मृत्युपछि घरायसी कामदारका रुपमा खटिएकी राधा विश्वकर्माले भनिन् ।

उनको काँधमा तीन छोराछोरीको हेरचाह गर्नुपर्ने जिम्मेवारी छ । तर, लकडाउन अवधिमा उनले तलब पाएकी छैनन् । मलाकपेटकी बासिन्दा अनिताले आफ्ना ड्राइभर बाबु र अरुको घरमा काम गर्ने आमा दुबैले लकडाउन अवधिमा तलब नपाएको बताइन् । ‘कहिलेकाँही हामीले च्यारिटीमार्फत रासन पाएका छौं । तर यसले सधैं गुजारा चल्दैन । यहाँ हामीजस्ता धेरै नेपाली छन्, जसले लकडाउनमा बाँच्ने सामथ्र्य राख्दैनन्,’ उनले भनिन् ।

-रातोपाटीबाट