काठमाडौँ वैशाख १५(ई-रैवार)
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसमूहका नेताहरुबीच छलफल विनानिष्कर्ष सकिएको छ । कोटेश्वरमा करिब तीन घण्टा बसेको बैठकमा कुनै सहमति जुटेन ।
बालुवाटारमा बिहान प्रधानमन्त्री ओली र नेता नेपालको ‘वान टु वान’ वार्ता सकिएलगत्तै नेपालसहितका नेताहरु दोस्रो वर्तामा बसेका थिए।
बैठकमा नेपाल समुहले ‘एक व्यक्ति, एक पद’को नीति लागु गर्ने अडान लिईरहेपछि कुनै समहति जुट्न नसकेको हो। छलफलमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली थिए। नेपालका तर्फबाट नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त सहभागी थिए।
‘उहाँहरुले कहाँ गल्ती कमजोरी छन्, खोजौं र मिलौं भन्नु भयो। हामीले पनि गल्ती कमजोरी हटाउने, पार्टीलाई एकताबद्ध गर्ने उद्देश्य हो। त्यही कारण बैठक माग गरेका हौं। जे जे गर्नुपर्छ बैठकमै गरौं भन्यौं,’ छलफलमा सहभागी नेता भीम रावलले भने, ‘भोली नै सचिवालयको बैठक र पर्सी स्थायी कमिटी बैठक गरौं। त्यहाँ खुलस्त छलफल गरौं। त्यही निष्कर्ष निकालौं।’
नेता रावलले बैठकमा अर्को समूहका नेताहरुबाट कुनै प्रस्ताव नआएको बताए। ‘त्यहाँ कुनै प्रस्ताव आएको छैन। नीतिगत कुरामै छलफल केन्द्रीय भयो। गल्ती कमजोरी होलान्। त्यसबारे पार्टीको उच्चतहमा कुरा गरौं। अनौपचारिक छलफल गरौं भनेर उहाँहरुले भन्नु भयो,’ नेता रावलले भने, ‘छलफल गर्ने कुरामा के आपत्ति भयो र? छलफल हुँदै आएको छ, अब पनि गरौंला। तर, अनौपचारिक छलफलभन्दा हामीले बैठक माग गरेका छौं। तुरुन्त बैठक बसौं, त्यहीं छलफल गरौं। पार्टीलाई विधि पद्दतिमा चलाऔं हामीले भन्यौं।’
नेपाल समूहकै नेता रघुजी पन्तले मंगलबार सचिवालय बैठक बस्ने सहमति भएको बताएका छन् । उनका अनुसार मंगलबार बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठकबारे निर्णय गर्नेछ ।
पुष्पकमल दाहाल र माधव नेपाल समूहका २० स्थायी कमिटि सदस्यले स्थायी कमिटी बैठक बोलाउन लिखित माग गरिसकेका छन् ।


