ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ५० हजार धरौटीमा छुटे

Spread the love

नेपालगञ्ज, असार ७ (ई-रैवार) 

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जना धरौटीमा छुटेका छन्। नेपालगञ्जस्थित भेरी अस्पतालमा ड्युटीमा रहेका डाक्टर तथा नर्समाथि कुटपिट र आक्रमण गर्ने दाङका तीन जना आइतबार छुटेका हुन्।

ड्युटीमा रहेका डाक्टर तथा नर्समाथि कुटपिट र आक्रमण गर्नेलाई जिल्ला अदालत बाँकेले दाङका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तुलसीपुरका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई जनही ५०/५० हजार धरौटीमा छोड्न आदेश दिएको हो।

ज्यान मार्ने उद्योगमा प्रहरीले दर्ता गरेको मुद्दाको सुनुवाइ गर्दै बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले थुनामा रहँदै आएका तिनै जनालाई धरौटीमा छोड्न आदेश दिएको हो।  अदालतको आदेशसँगै तोकिएको धरौटी बुझाएर तीनै जना आइतबार नै रिहा भएको बाँके जिल्लाका अदालतका स्रेस्तेदार तीर्थ भट्टले जानकारी दिए।

गत जेठ १३ गते उपचारका क्रममा ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएको थियो। कोरोना संक्रमित रावतको मृत्यु भएपछि अस्पताल र स्वास्थ्यक्रमीमाथि आक्रमण गरेका थिए। सो क्रममा नर्स र डाक्टरले झ्यालबाट हाम फालेर भाग्नु परेको थियो।

उक्त घटनाको चौतर्फी विरोध भएको थियो। सो घटनाको छनबिन गर्न समिति समेत बनेको थियो। सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले २५ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनका विषयमा अस्पतालका स्वास्थ्यकर्मीले आपत्ति जनाएका छन्।