सोल : उत्तर कोरियामा नेता किम जोङ उनको शासनपछि उनको परिवारबाटै अर्को सदस्य किमकी बहिनीलाई अघि सारिएको छ ।
पार्टीमा वरियताक्रम अनुसार बहिनी किम यो जो जोङ माथिल्लो तहमा भएकाले पनि उनलाई सम्भावित उत्तराधिकारीको रुपमा अघि सारिएको हो । ३० वर्षीया यो दाजु किमसँगै डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपतिसँगको वार्तामा पनि उपस्थित थिइन् ।
जहाँ उनले आफ्ना दाईको तर्फबाट दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनको निमन्त्रणमा व्यक्तिगत सन्देश दिएकी थिइन् । यससँगै पुरुससत्ताले जकडिएको समाजमा उनी सम्भवतः सबैभन्दा शक्तिशाली महिलाको रुपमा उदाउने सम्भावना रहेको भनी दक्षिण कोरियाली मिडियाले लेखेका छन् । जब कि, उत्तर कोरियामा शासन हस्तान्तरणको जिम्मेवार रक्त नातालाई नै मानिदै आएको छ ।
किमकी बहिनीबारे केही टिप्पणी भने यस्ता पनि छन् कि, यहाँ महिलाको शासन खासै रुचाइँदैन । जसले गर्दा किमकी बहिनी योको शासन सिमित हुनसक्ने केही विज्ञको टिप्पणी छ । उत्तर कोरियाको शासन एकै परिवारको तेस्रो पुस्तामा चलिरहेको छ । राजसंस्थाकै शैलीमा किमका हजुरबाले नेतृत्व गरेको शासन किमका बाबु हुँदै किमले २०११ म सम्हालेका हुन् ।
दोस्रो विश्वयुद्धपछि नै किमका हजुरबाले स्वतन्त्रता लडाइँको नेतृत्व गर्दै देशको सर्वोच्च नेता बनेका थिए ।हाल किमले उत्तराधिकारी घोषणा नगरेका बेला, उनको स्वास्थ्यबारे अनेक टिप्पणी भइरहँदा पार्टीमा हैसियतका आधारमा शासनसत्ता सम्हाल्ने आगामी शासकको रुपमा उनकी बहिनीबारे समाचार आउन थालेका छन् ।


