डोटी वैशाख ६(ई-रैवार)
लकडाउनले परदेशमा थुनिएका नेपालीहरुको यतिबेला राज्यले वास्ता नगरेको गुनासो तीब्र छ । यसमा पनि भारतमा रहेका नेपालीहरुले नेपाल सरकारबाट आफ्नो जानकारीसम्म लिने काम नभएको भन्दै ठुलो असन्तुष्टी जनाईरहेका छन् ।
कठिन समयमा देशभित्रै भिœयाएर सुरक्षित अवस्थाको प्रत्याभूति दिनुको साँटो सीमामा अपहेलित गरिनु, राज्यका तर्फबाट दुईदेशबिचमा आधिकारिक सम्बाद नहुनुले आफ्नो सरकारले भारतमा रहेका नेपालीहरुको अपमान गरेको उनिहरुको आरोप छ ।
यस्तोमा डोटीको बडीकेदार गाउँपालिकाले भने भारत लगायत अन्य मुलूकमा थुनिएका आफ्ना नागरिकको जानकारी लिन शुरु गरेको छ । भविष्यमा निम्तनसक्ने चुनौती र नागरिकप्रति राज्यको दायित्व वहन गर्न परदेशमा रहेका नागरिकहरुको विवरण लिन शुरु गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । ‘हामी दायित्व वहन र पूर्वतयारी दुबै गर्दैछौ,’ उनले भने,‘यदि भोली ति देशहरुले हाम्रा नागरिक पठाईदिए के गर्ने ? वा प्रावासमा रहदा उनीहरुले भोग्ने समस्याको सम्बोधन कसरी गर्न सकिन्छ ? यी यावत कुराको विश्लेषण गर्न यो विवरणले काम गर्नेछ ।’
भारतमा ठुलो संख्यामा गाउँपालिका भित्रका नागरिकहरु रहेको अध्यक्ष चन्दले बताए । उनले भने,‘संकलित विवरणले हामीलाई आवश्यक पूर्वतयारी गर्न र उनीहरुबाट आउने संक्रमणको जोखिम व्यवस्थापनमा सघाउ पु¥याउनेछ ।’
गाउँपालिकाले ढिलोचाडो आफ्ना नागरिक भिœयाउनुपर्ने बुझाई राखेको उपाध्यक्ष ईन्द्रा भाट(बोहरा)ले बताईन् । ‘ढिलोचाडो हो । त्यसका लागि आवश्यक सतर्कतामा यो विवरण काम लाग्नेछ,’ उनले भनिन्,‘प्रवासमै रहदा भोगिरहेका समस्या सम्बोधनमा पनि गाउँपालिकाले केही गर्न सक्छ’की, छलफल गर्न सजिलो हुन्छ ।’
विवरण संकलनमा वडा कार्यालयलाई जिम्मेवारी दिएको छ । वडा कार्यालयले स्वास्थ्य संस्थाहरुसंग सहजीकरण गरेर महिला स्वास्थ्य स्वयमसेविकामार्फत घरदैलोमा गएर तथ्याङ्क संकलन गर्ने गाउँपालिकाले जनाएको छ ।
प्रवासमा रहेका नेपाली नागरिकहरुकोे सुरक्षित स्वदेश आगमन र जोखिम न्युनिकरणमा संघ र प्रदेश सरकारसंग हातेमालो गर्न तयार रहेको गाउँपालिका अध्यक्ष चन्दले बताए । ‘सीमा नजिकै सुविधासम्पन्न क्वारेन्टाईनबसाईपछि अगाडी बढ्न दिए थप संक्रमणको जोखिम हट्छ । नागरिकप्रतिको दायित्व वहन पनि हुन्छ,’ उनले भने,‘यसमा गाउँपालिकाका नागरिकको खानालगायतको प्रवन्ध मिलाउन हामी तयार छौ ।’
प्रवासी नागरिकको विवरण लिँदै बडीकेदार गाउँपालिका


