चिनियाँ खोप आजबाट ४० देखि ५९ वर्ष उमेर समूहलाई दिइँदै

चिनियाँ खोप आजबाट ४० देखि ५९ वर्ष उमेर समूहलाई दिइँदै
Spread the love

काठमाडौं, चैत्र ३१ (ई-रैवार)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि चिनियाँ कम्पनीको कोभिड खोप भेरोसेल ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई दिइँदै छ । ३१ चैत २०७७ देखि ५ वैशाख २०७८ सम्म चिनियाँ कम्पनीको कोभिड खोप भेरोसेल दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजदेखि नै चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका १८ देखि ६० वर्षका व्यक्तिलाई पनि लगाउने निर्णय गरेको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए।

गौतमका अनुसार स्वास्थ्यकर्मी फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइने छ। यस्तै ४० वर्षदेखि ५९ वर्षका सर्वसाधरण नागरिकले पनि खोप केन्द्रमा गएर कोभिड विरुद्धको खोप लगाउन सक्ने छन्।

यसअघि सरकारले २५ चैतदेखि केही निश्चित समूहका व्यक्तिका लागि मात्रै यो खोप उपलव्ध गराएको थियो । त्यसबेला १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्ति छानिएको थियो ।

चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप नेपाल सरकारले चैत १६ गते काठमाडौं ल्याएको थियो । सो खोप  २३ वटा केन्द्रबाट दिन लागिएको खोप महाशाखा प्रमुख डाक्टर झलक गौतमले जानकारी दिए ।

चीनले नेपाललाई अनुदानमा दिएको आठ लाख भेरोसेल खोप अहिले वितरण भइरहेको हो । यो खोप पनि कोभिसिल्ड खोपजस्तै दुई मात्रा लगाउनुपर्छ । पहिलो डोज लगाएको २८ दिनपछि यो खोपको दोस्रो डोज लगाउनुपर्छ ।