धनगढी फागन २०(ई-रैवार)
थरुहट-थारुवान राष्ट्रिय मोर्चाले घोषणा गरेको तराईका जिल्लामा आमहड्तालको पहिलो दिन तराईका जिल्ला प्रभावित भएका छन् । सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन कैलाली, कञ्चनपुर सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको थिउो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अहिले बन्दको आशिंक प्रभाव देखिएको छ।
कैलालीका विभिन्न स्थानबाट अन्यत्रका लागि सवारी साधन नछुटेपनि अन्यत्रबाट कैलाली आउने क्रम भने जारी छ। यस्तै धनगढी सहित विभिन्न क्षेत्रमा बजार आशिंक रुपमा खुलेको छ। मोर्चाका कैलाली संयोजक माधव थारुले अत्यावश्यक सेवा बाहेक यातायात, बजार, विद्यालय सबै बन्द गरिएको बताए। उनले भने, ‘आमहड्तालको क्रममा कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था लगायत यातायातका साधन पूर्ण रुपमा बन्द गरेका छौँ। आमहड्ताल अवज्ञागरी सवारी साधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयम्ले लिनुपर्नेछ।’
आम हड्तालको समयावधिमा अतिआवश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन हुन पाउने बताइएको छ।
रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ।
थरुहटको बन्दले तराई क्षेत्र प्रभावित


