काठमाडौँ, जेठ १२ (ई-रैवार)
नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले बुधबार बिहान बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा बुधबार बिहान ९ बजे बस्ने छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद विघटनविरुद्ध सर्वोच्चमा १४६ सांसदको हस्ताक्षरसहित दायर गरिएको रिट, पार्टीको १४ औं महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने मुख्यसचिव पौडेलले जानकारी दिए ।
हिजो (मंगरबार) काग्रेश सहित विपक्षी गठबन्धनले कानुन व्यवासायीसँग छलफल गरेको थियो । कांग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री पूर्णबहादुर खड्का, सचेतक पुष्पा भुसाल, रमेश लेखक, राधेश्याम अधिकारी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सचेतक देवप्रसाद गुरुङ, नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, अधिवक्ता मुक्ति प्रधान लगायत सहभागी थिए ।
सोमबार विपक्षी गठबन्धनले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनः स्थापनाको मागगर्दै सर्वोच्चमा रिट दायर गरेको छ ।


