महामारीमा अस्पतालमाथि ‘राजनीति’: विशेषज्ञ चिकित्सकलाई ‘२४ घण्टे’

महामारीमा अस्पतालमाथि ‘राजनीति’: विशेषज्ञ चिकित्सकलाई ‘२४ घण्टे’
Spread the love

विश्व समुदाय कोभिड–१९को महामारीसंग जुध्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई हौस्याईरहेको छ । डोटी जिल्ला अस्पताल व्यवस्थापन समिति भने उनै चिकित्सक र स्वास्थ्यकर्मीसंग राजनीतिक ‘दाउपेच’ चल्नमै व्यस्त छ । आस्था बोकेकै आधारमा चिकित्सकलाई ‘२४ घण्टे’ लगाएर धपाउने रणनीतिक चालमा अस्पताल व्यवस्थापन रुमल्लिएको छ ।



अरूण बम-


डोटी जिल्ला अस्पतालमा नेपाल सरकारबाट नवौँ तहको एकजना एमडिजीपी चिकित्सक मेडिकल सुपरिटेण्डेन्ट रहनेगरी स्वीकृत स्थायी दरबन्दी छ । तर सो दरबन्दी जहिल्यै रिक्त हुन्छ । त्यसबाहेक नेपाल सरकारबाट दुईजना सातौँ/आठौँ तहका मेडिकल अधिकृत(एमविविएस)को दरबन्दी छ । त्यो पनि अधिकांश समय रिक्त नै रहन्छ ।
धन्न ! निक साईमन ईन्टरनेशनल(एनएसआई) डोटीका लागि बिगत केहीवर्षयता बरदान सावित हुदैआएको छ । सो संस्थाले छात्रबृत्ती करारमा रहेका चिकित्सकलाई उपलब्ध गराएर अस्पताल धानिरहेको अवस्था विगतवर्षयता विद्यमान छ ।
त्यही निक साईमन ईन्टरनेशनको छात्रवृत्ती करारमा रहेका व्यक्ती हुन्–डा.प्रमोद भट्ट(एमडिजीपी) । जिल्ला अस्पताल डोटीमा रहेर काम गरिरहेका उनी एकमात्र नवौँ तहका विशेषज्ञ चिकित्सक थिए ।

डा. प्रमोद भट्ट लगायतको टीम ।

उनैलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीको पत्राचारका आधारमा स्वास्थ्य मन्त्रालयले ‘२४ घण्टे’ लगाएर काठमाण्डौँ झिकायो । उनलाई स्पष्टिकरण सोध्यो ।

कनिष्ठलाई निमित्त मेसु प्रकरण र रिट
डा. प्रमोद २०७६ माघदेखी जिल्ला अस्पताल डोटीका कार्यरत थिए । उनी त्यसबेलादेखी नै जिल्ला अस्पतालमा सबैभन्दा बरिष्ठ चिकित्सक हुन् । यद्यपी अस्पतालमा नेपाल सरकारको स्थायी मेडिकल अधिकृत डा. ज्योती पाण्डे कार्यरत रहेकाले उनैलाई निमित्त मेडिकल सुपरिटेण्डेन्ट(मेसु)को जिम्मेवारी थियो । त्यतिबेला करारमा रहेका चिकित्सकलाई मेसुको जिम्मेवारी दिने कानुन पनि थिएन् ।
जव डा. ज्योती अध्ययनका लागि गईन्, तब अस्पतालमा राजनीतिक दाउपेच शुरु भयो । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले गत फागुन ५ गतेको मन्त्रीस्तरीय निर्णयले छात्रवृत्ती करारमा रहेका चिकित्सकहरुलाई पनि मेसुको जिम्मेवारी दिनसकिने नीतिगत निर्णय ग¥यो । त्यो निर्णय पनि जिल्ला अस्पताल डोटीलाई लक्षित गरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले गराएको स्रोतको दाबी छ ।
अध्यक्ष जोशी नेकपा एमालेका नेता हुन् । नेकपा एमालेबाट केआईसिँह गाउँपालिकाका अध्यक्षका उम्मेदवार समेत रहीसकेका उनी २०७६ आसोजमा जिल्ला अस्पतालमा राजनीतिक नियुक्तीबाट अध्यक्ष भएका हुन् । स्रोतका अनुसार अध्यक्ष जोशीको चाहना र राजनीतिक विचार मिल्ने भएकाले छात्रबृत्ती करारमै रहेका आठौँ तहका मेडिकल अधिकृत डा. प्रकाश ठकुल्लालाई निमित्त मेसु बनाउने थियो सोही अनुसार उनले मन्त्रालयबाटै नीतिगत निर्णय गराए ।

जिम्मेवारी सम्हालिसकेपछि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशी ।

भयो पनि त्यस्तै व्यवस्थापन समितिको पत्राचारमा गत चैत्र ३ गते सामाजिक विकास मन्त्रालयले बरिष्ठ चिकित्सक डा. प्रमोदलाई छाडेर डा.प्रकाशलाई आर्थिक तथा प्रशासनिक अधिकारसहितको निमित्त मेसुको जिम्मेवारी प्रदान ग¥यो । डा. प्रमोदले आफुलाई राजनीतिक कारणले नै मेसुको जिम्मेवारी नदिईएको बताए । ‘म उहाँहरुको पार्टीसंग नजिक थिएन् । त्यसैले जिम्मेवारी दिएनन्,’ उनले भने,‘त्यसमा पनि मेरो कुनै आपत्ती थिएन् ।’
तर अस्पताल व्यबस्थापन समितिका अध्यक्ष जोशीले भने राजनीतिक कारण भन्दापनि डा. ठकुल्ला नेपाल सरकारको छात्रवृत्ती करार रहेकाले जिम्मेवारी दिएको दाबी गरे । ‘एनजिओको सेवासुविधा खाने कसरी मेसु हुनसक्छ?,’ उनले प्रतिप्रश्न गरे । यद्यपी निक साईमन ईन्टरनेशनलको छात्रवृत्तीमा रहेर अध्ययन गरी उसैको सेवासुविधा लिएपनि स्वास्थ्य मन्त्रालयकै नियूक्तीमा काम गरिरहेको दाबी गर्दै त्यो भनाई लागु नहुने डा. प्रमोद दाबी गर्छन् ।
चैत्रको पहिलो साता डा. प्रकाशलाई निमित्त मेसुको जिम्मेवारी आईसकेको थियो । त्यसपछि डा. प्रमोदलाई शिविरका लागि बझाङबाट माग आयो । उनी जाने चाहन्थे । तर निमित्त मेसु डा. प्रकाशले उनलाई काज दिएनन् । बिदामै भएपनि उनी बझाङ गए ।
काज नदिएपछि कनिष्ठले पेलेको अनुभूति गर्दै डा. प्रमोदले बरिष्ठतमलाई छाडेर कनिष्ठलाई निमित्त मेसु दिईएको भन्दै सर्वोच्चमा रिट दायर गरे । सर्वोच्चले चैत्र २६ गते अन्तरिम आदेश जारी गर्दै अन्तिम फैसला नहुदासम्मका लागि डा. प्रकाशले पाएको निमित्त मेसुको जिम्मेवारी कार्यान्वयन नगर्न÷नगराउन निर्देशन दियो ।

त्यसपछि भड्किए अध्यक्ष जोशी
सर्वोच्चमा रिट र निमित्त मेसुको जिम्मेवारी कार्यान्वयन नहुने स्थिती देखिएपछि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रिसाएर डा. प्रमोदका विरुद्ध निक साईमन ईन्टरनेशनलमा पत्राचार गरे । र २४ घण्टाभित्र डा. प्रमोदलाई झिकाउन उर्दी लगाए । निक साईमन खटाउने र जिम्मेवारी दिने अधिकार आफ्नो नभएको भन्दै पन्छियो । त्यसपछि स्वास्थ्य मन्त्रालयले नै उनलाई २४ घण्टे लगाएर डोटीबाट काठमाण्डौँ झिकाएको छ ।
‘डा. प्रमोदसंग मेरो व्यक्तीगत केही छैन् । तर मुद्दा हालेपछि मन दुख्यो,’ अध्यक्ष जोशीले भने,‘त्यसपछि मैले पत्राचार गरेको हु । मैले एनएसआईसंग कुरा गरेको छु । केहीदिनमा उनको ठाउँमा अर्को आउछ ।’