धनगढीः नेपाली कांग्रेसका प्रभावशाली नेता एनपी साउँदले पार्टीवृत्तमा आशन्न १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय महामन्त्रीमा निर्वाचन लड्ने आकांक्षा प्रकट गर्दै आएका थिए । यद्यपी उनले आफै सार्वजनिक रुपमा घोषणा भने गरिसकेका थिएनन् ।
सुदूरुपश्चिम प्रदेश अधिवेशन सकिएलगत्तै उनको सचिपालयले सोही पदमा उम्मेदवारीको औपचारिक पोष्टर सार्वजनिक गरेको छ । उनले यो विषयमा भने आधिकारिक रुपमा बोलिसकेका छैनन् । पूर्वमन्त्री समेत रहेका साउद सुदूरपश्चिम प्रदेशको अधिवेशनका लागि कैलालीको धनगढीमा थिए। उनी प्रदेशको चुनाव सम्पन्न भइसकेपछि शनिवार बेलुकी काठमाडौं फर्किसकेका छन्। उनको सचिवालयले आइतबार महामन्त्रीका उम्मेदवार लेखिएको पोस्टर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको छ ।

साउँद संस्थापन पक्षका नेता हुन् । उनको सचिवालयले चुनावका लागि काठमाडौं अनामनगरमा सम्पर्क कार्यालयसमेत खोलिसकेको छ । संस्थापन पक्षबाटै सहमहामन्त्री डा. प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाँण र प्रवक्ता विश्वप्रकाश शर्मा पनि आंकाक्षी छ । शर्माले आधिकारिक रुपमै उम्मेदवारी घोषणा समेत गरिसकेका छन् ।
कांग्रेस विधान अनुरुप महामन्त्रीमा दुई जना निर्वाचित हुने व्यवस्था छ ।
नेविसंघको सातौ अधिवेशनबाट अध्यक्ष निर्वाचित नेता साउँँदको महामन्त्रीमा संस्थापन पक्षबाट उम्मेदवार पर्नसक्ने सम्भावना प्रबल छ । सभापति शेरबहादुर देउवाका विश्वासपात्र रहेका साउँदलाई देउवाले संगठनको जिम्मेवारी दिदै आएका छन् ।


