काठमाण्डौँ: म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ। उनीविरुद्ध चलिरहेको कयौं मुद्दाहरुमा उनलाई पहिलोपटक चार वर्षको जेल सजाय भएको बीबीसीले जनाएको छ।
सुकीमाथि मानिसहरुलाई भड्काएको र प्राकृतिक विपत्ति कानुन अनुसार कोभिड १९ नियम तोडेकोमा दोषी पाइएको जनाइएको छ।
सुकीमाथि ११ आरोप लगाइएको थियो र उनले सबैलाई अस्वीकार गरेकी थिइन्।
फेब्रुअरीमा सेनाले सत्ता हातमा लिनु अघि ७६ वर्षीया सुकी नागरिकले चुनेको सरकारको नेतृत्व गरिरहेकी थिइन्।
सेनाले गत वर्ष भएको आम निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै सत्ता हातमा लिएको थियो। उक्त चुनावमा सुकीको नेशनल लिग फर डेमोक्रेसी ९एनएलडी०ले बहुमत ल्याएको थियो।
सेनाले सत्ता हातमा लिएसँगै सुकी नजरबन्दमा थिइन् र उनीमाथि कयौं मुद्दा चलाइएका थिए। उनीमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत धेरै आरोप लगाएको छ।
सुकीमाथि लागेका सबै अभियोगमा अदालतले दोषी ठहर्याए उनले आजीवन काराबासको सजाय पाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।


