काठमाडौं, भदौ २२ (ई-रैवार)
कोरोना संक्रमणबाट नेपालगन्ज र विराटनगरमा थप २ जनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका ९ का ५९ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उपमहानगरपालिकाको कार्यालयमा कार्यरत ती पुरुषमा ३ वर्षदेखि मधुमेह र ५ वर्षदेखि मुटुरोगको समस्या नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
यही भदौ १२ गते उनको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि स्वाब लिइएको थियो । भदौ १५ गते पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि उनी होटेलको आइसोलेसन सेन्टरमा बसेका थिए ।
उनको भदौ १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । नेपालगञ्ज मेडिकल कलेजमा आइतबार राति ८:३० बजे मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।
त्येस्तै विराटनगरमा थप एकजना कोरोना संक्रमित मृत्यु भएको छ । कोसी अस्पताल मातहतको कोभिड–१९ उपचार केन्द्रमा सोमबार संक्रमित पुरुषको मृत्यु भएको हो ।
उनी विराटनगर महानगरपालिका वडा नम्बर १० निवासी हुन् । ७६ वर्षीय पुरुषको बिहान सबा ३ बजे उपचारको क्रममा मृत्यु भएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताएका छन् ।
मेडिकल सुपरिटेन्डेन्ट डा. दासका अनुसार उनी होम आइसोलेसनमै रहंदा स्वास्थ्य समस्या देखिएपछि परिवारले शनिबार अस्पताल भर्ना गरेका थिए । उनमा गत भदौ ११ गते संक्रमण पुष्टि भएको थियो । मृतकमा उच्च रक्तचापको समस्या रहेको बताइएको छ ।
योसँगै विराटनगरमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु पुगेको छ ।


