पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात गरेर काम गर्न कर्मचारीलाई प्रधानमन्त्री ओलीको निर्देशन

पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात गरेर काम गर्न कर्मचारीलाई प्रधानमन्त्री ओलीको निर्देशन
Prime Minister KP Sharma Oli taking part in a video conference of SAARC leaders to contain the spread of the coronavirus, in Kathmandu, on Sunday. The conference was conducted at the initiative of the Indian PM. Photo: RSS
Spread the love

काठमाडौं, भदौ २२ (ई-रैवार)

प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीहरुलाई चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात गरेर काम गर्न  निर्देशन दिएका छन् । आज निजामती कर्मचारी दिवसमा एक सन्देशमार्फत् कर्मचारीहरुमाथि लाग्ने गरेको तमाम आरोपहरु चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात गरेर काम गर्न निर्देशन दिएका हुन् ।

‘निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम आरोपहरुलाई चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात गरी उच्च नैतिक आचरण र ब्यवहार मार्फत् सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीहरुले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नु पनि जरुरी छ,’ प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन् ।

उनले कर्मचारीहरुलाई समयानुकूल ढंगले रुपान्तरण गर्न जरुरी रहेको समेत बताएका छन् । उनले शुभकामनामा भनेका छन्, ‘निजामती सेवाका संरचनाहरुलाई संघीय शासन व्यवस्था अनुरुप रुपान्तरण गरी तीनै तहबीच संरचनागत, कार्यगत र भावनात्मक अन्तरसम्बन्धलाई संस्थागत गर्नुपर्ने आवश्यकता छ ।’

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९को विषम परिस्थितिलाई सामना गर्ने सिलसिलामा जीवन जोखिममा राखी अग्रभागमा खटिनुभएका राष्ट्रसेवकप्रति यस अवसरमा प्रधानमन्त्रीले सम्मानसमेत प्रकट गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य रहेको सन्देशमा उल्लेख गरेका छन् । “तानाशाही शासनविरुद्धको सङ्घर्ष, त्यस सङ्घर्षमा खेप्नुपरेको पीडा र गर्नुपरेको बलिदान एवं आफ्ना पेशागत हकहितका लागि गरेका सङ्घर्ष सकारात्मक र प्रशंसायोग्य नै छन्”, उनले सन्देशमा भनेका छन्, “तपाईंहरुले सहभागिता जनाएका र योगदान पुर्‍याएका आन्दोलनहरु सफल भएका छन् र तपाईंहरुका मागहरु पनि पूरा भएका छन् । ”

नेपालका विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले लोकतान्त्रिक शासन व्यवस्थामा कर्मचारीको भूमिका र जिम्मेवारी अझै गहन र व्यापक भएको सन्देशमा बताएका छन् । लोकतन्त्रका लाभको वितरण नागरिकसम्म पु¥याई जनताको सेवा गर्न तथा राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

निजामती कर्मचारीमाथि लाग्ने गरेका तमाम आरोपलाई चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात् गरी उच्च नैतिक आचरण र व्यवहारमार्फत सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीले आफूलाई समयानुकूल ढङ्गले रुपान्तरण गर्नु जरुरी रहेकामा उनले जोड दिएका छन् ।

निजामती सेवा ऐन विसं २०१३ मा तत्कालीन टङ्कप्रसाद आचार्यको सरकारले नेपालमा पहिलो पल्ट आजकै दिन ल्याएको थियो । त्योही समय देखी निजामती कर्मचारी दिवस मनाउन थालिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश

निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाउने गरिएको निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई हार्दिक वधाई दिन चाहन्छु ।

नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य छ । तानाशाही बिरुद्धको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेशागत हकहितका लागि गरेका संघर्ष सकारात्मक र प्रशंसायोग्य नै छन् । यस घडीमा म ती संघर्षहरुमा शहादत प्राप्त गर्ने शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु र पीडितहरुप्रति सहानुभूति प्रकट गर्दछु । तपाईंहरुले सहभागिता जनाएका र योगदान पु¥याएका आन्दोलनहरु सफल भएका छन् र तपाईंहरुका मागहरु पनि पूरा भएका छन् ।

आज देशमा लोकतन्त्र छ, लोकतान्त्रिक संविधान छ र जनतामा सार्वभौमसत्ता रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली छ । अब हामी जो जहाँ छौं, त्यहीँबाट सबैले यस प्रणालीलाई सफल पार्नु छ । यतिबेला समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी छ । यसका लागि आफ्नो दक्षता अभिबृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन समेत जरुरी छ ।

यस अवसरमा सम्पूर्ण निजामती कर्मचारीहरुमा उच्च नैतिक आचरण र पेशागत निष्ठा मार्फत जनताप्रति उत्तरदायी र असल शासनको ब्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्ने समेत शुभकामना ब्यक्त गर्दछु । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९को विषम परिस्थितिलाई सामना गर्ने सिलसिलामा जीवन जोखिममा राखी अग्रभागमा खटिनु भएका राष्ट्र सेवकहरुप्रति यस अवसरमा सम्मान समेत प्रकट गर्न चाहन्छु ।

नेपालको विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको छ । लोकतान्त्रिक शासन व्यवस्थामा यसको भूमिका र जिम्मेवारी अझै गहन र व्यापक भएको छ । लोकतन्त्रका लाभहरुको वितरण आम नागरिकसम्म पु¥याई जनताको सेवा गर्न, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिबृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण हुन्छ । निजामती सेवाको यस्तो भूमिका मार्फत् नै मुलुकको आर्थिक–सामाजिक विकास गर्न सकिन्छ र त्यसैको माध्यमबाट हामीले समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु पर्ने छ । राष्ट्रको यस आकाङ्क्षा पूरा गर्न सम्पूर्ण निजामती कर्मचारीहरुले आफ्नो क्षमता अभिबृद्धि गर्ने ज्ञान, सीप, दक्षता एवं त्यस क्षमतालाई निष्ठा र इमान्दारीपूर्वक ब्यवहारमा प्रदर्शन गर्नु पर्ने आवश्यकता छ ।

निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम आरोपहरुलाई चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात गरी उच्च नैतिक आचरण र ब्यवहार मार्फत् सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीहरुले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नु पनि जरुरी छ । निजामती सेवाका संरचनाहरुलाई संघीय शासन व्यवस्था अनुरुप रुपान्तरण गरी तीनै तहबीच संरचनागत, कार्यगत र भावनात्मक अन्तरसम्बन्धलाई संस्थागत गर्नुपर्ने आवश्यकता छ ।

कोभिड–१९ लगायत समय समयमा आउने अकल्पनीय बाढी, पहिरो, आगलागीजस्ता प्राकृतिक विपदका अवस्थाहरुमा कर्मचारीहरुले देखाएको परोपकारी भावना र सम्पादन गरेको काम प्रशंसनीय छ ।

अन्त्यमा, निजामती सेवा दिवसको अवसरमा समस्त राष्ट्रसेवक कर्मचारीहरुमा पुनः हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु ।

केपी शर्मा ओली

प्रधानमन्त्री

२२ भदौ २०७७