कोरोना संक्रमणबाट वीरगन्जमा थप ३ जनाको मृत्यु

कोरोना संक्रमणबाट वीरगन्जमा थप ३ जनाको मृत्यु
Spread the love

 

बीरगंज भदौ १६  (ई-रैवार)

कोरोना संक्रमणबाट वीरगन्जमा थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा वीरगन्ज महानगरपालिका– २० हरपतगन्ज निवासी ५३ वर्षीय पुरुष, बारा जिल्ला कोल्हभी निवासी ६० वर्षीय पुरुष तथा नाम–ठेगाना खुल्न नसकेका ६० वर्षकै अर्का पुरुषको मृत्यु भएको हो ।

वीरगन्ज महानगरपालिका– २० हरपतगन्ज निवासी ५३ वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्थायी कोभिड़ अस्पताल हेल्थ केयरमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिएका छन ।

चिनी तथा मृगौला रोगले पीड़ित निज पुरुषको स्वास्थ्यमा समस्या आई साउन ३० गते अस्पताल भर्ना गरी स्वाब संकलन गरिएको थियो । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा साउन ३१ गते आएको रिपोर्टमा नै कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि १७ दिन देखि उनीलाई आईसीयूमा राखेर उपचार गर्दागर्दै भदौ १६ मंगलबार बिहान १२:४५ मा मृत्यु भएको डा. चौरसियाले बताएका छन ।

यसैगरी अर्का बारा जिल्ला कोल्हभी निवासी ६० वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्थायी कोभिड़ अस्पताल गण्डकमा मृत्यु भएको छ । चिनी रोगले ग्रसित उक्त पुरुषको उपचारको क्रममा मंगलबार बिहान ४:५० मा मृत्यु भएको डा. चौरसियाले बताए ।

डा. चौरसियाका अनुसार नाम–ठेगाना खुल्न नसकेको एक जना ६० बर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । वीरगन्जको फुटपाथमा जीवन बिताउँदै आएका उक्त पुरुषको उपचारको क्रममा नारायणी अस्पतालको इमरजेन्सी वार्डमा सोमबार राति ८:४५ मा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भई सावन १३ गते शनिबार नारायणी अस्पतालको इमरजेन्सीमा भर्ना भएका उक्त पुरुषको उपचारको क्रममा गएराति मृत्यु भएको र उनीमा सोमबार राति अबेरसम्म आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको डा. चौरसियाले जानकारी दिए ।

मृतक तिनै जना पुरुषसँगै कोरोना संक्रमणबाट वीरगन्जको कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ५३ जना पुगेको छ । जसमध्ये पर्साका ३८ जना, बाराका ११ जना तथा रौतहटका ३ जना रहेका छन् ।