काठमाडौं, भदौ १३ (ई-रैवार)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका लागि ‘धेरै परीक्षण’ नगर्न स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेका छन् । कोरोना संक्रमणसँग लड्नका लागि देशमा स्रोत साधन सीमित रहेको भन्दै उनले ‘जथाभावी खेर’ नफाल्न भनेका हुन् ।
‘कोरोना उपचारका प्रयोग हुने स्रोत साधन देशमा सिमित मात्रामा छ। धेरै सामान विदेशबाट मगाउनुपर्छ र देशको थुप्रै रकम खर्च हुन्छ’ उनले भने ‘त्यसैले सिमिति स्रोत साधनबाट एकदमै मितव्ययी ढंगले प्रयोग गरौँ।’
मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा उनले एकदमै आवश्यकबाहेक कोरोना परीक्षण नगर्न पनि आग्रह गरे । धनी देशमा बनेका उपकरणहरु हामी किनेर ल्याउनुपर्छ’ उनले भने ‘यस्तो हुँदा स्वभाविकरुपमा देशको ठूलो धनराशी खर्च हुन्छ। त्यसैले जथाभावी परीक्षण नगर्न र नगराउनुहुन अनुरोध गर्दछु।’
उनले सबैको पिसिआर परीक्षण सरकारले निशुल्क गरिरहेको र आफ्नो इच्छाले पैसा तिरेर पनि परीक्षण गराउने व्यवस्था भएको बताए ।
यसअघि नै सरकारले एकजना संक्रमितका लागि राज्यले १ लाख भन्दा धेरै खर्च गर्दै आएको र देशमा कोरोना संक्रमणकै नाममा करिब १२ अर्बजति खर्च भइसकेको जनाएको थिए ।
आयोमेलबाट


