दार्चुला, साउन ६ (ई-रैवार)
दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकामा घर पुरिएर २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन ।
जिल्लाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुर बस्तीमा माथिबाट पहिरो खसेर घर पुरिदा दुई जनाको मृत्यु भएको हो भने तीन जना घाईते भएका हुन ।
पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका ५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का वडासदस्य केशवसिह धामीले जानकारी दिए ।
यस्तै पहिरोमा परि घर धनी ३५ वर्षीया लक्ष्मी ढोली, ९ वर्षीय छोरा शुभम र १४ वर्षीया छोरी सोनिया घाईते भएका छन । तीन जनालाई स्थानीय र प्रहरीले घरभित्रबाट जिवितै उद्धार गरेको स्थानीय अनिल खत्रीले जानकारी दिए ।
घाईते लक्ष्मी र छोरी सोनियाको थप उपचारको लागि हेलिकप्टर मार्फत उद्धारको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरक्षिक (डिएसपी) पदम बहादुर विष्टले जानकारी दिए। घाईतेहरुको अहिले शंकरपुर स्वास्थ्य चौकी पस्तीमा उपचार भइरहेको छ। हिजो राती ३ बजेतिर घरमाथिबाट पहिरो गएको हो ।
पहिरोमा पुरिएर मृत्यु भएका मिलन र अर्जुन दाजु भाई हुन। उनीहरु गौरा पर्वको लागि लुगा सिउने कामको लागि शंकरपुर पस्ती आएका हुन । वडा नम्बर ८ को वडा कार्यालयको फिल्ड र शौचालय भत्किएपछि लक्ष्मीको घर पुरिएको हो। यस्तै पहिरोले शुविरसिह धामी र हरसिह धामीको पसलमा क्षति पुगेको छ।


