पोखरा, १२ भदौ (ई-रैवार)
पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा श्वासप्रश्वासमा समस्या भएर आएका पोखरा महानगरपालिका १६ निवासी ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।
अस्पताल आइपुगेको एकघण्टामै उनको मृत्यु भएको थियो । उक्त प्रतिष्ठानमा यसअघि ५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
अस्पतालका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले दिएको जानकारी अनुसार मृतकमा सुगर र प्रेसरको समस्या थियो । यसैबीच गण्डकी प्रदेशमा थप ११ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
गण्डकी प्रदेशमा यो सँगै संक्रमितको संख्या २ हजार ३६ पुगेको छ । पछिल्लोपटक संक्रमितहरु बैंकका कर्मचारी, महानगरपालिकाका इन्जिनियर, मोबाइल पसलका सञ्चालक, औद्योगिक क्षेत्रमा कार्यरत कर्मचारी लगायत रहेका छन् ।


