महाकाली अस्पतालमा पीसीआर गरेका ९५ प्रतिशतलाई कोरोना, अस्पताल भन्छ– अब थेग्न सक्दैनौँ

महाकाली अस्पतालमा पीसीआर गरेका ९५ प्रतिशतलाई कोरोना, अस्पताल भन्छ– अब थेग्न सक्दैनौँ
Spread the love

कञ्चनपुर, वैशाख १२ (ई-रैवार) 

कञ्चनपुरस्थित महाकाली अस्पताल भर्ना हुने कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ । पछिल्लो एक सातायता संक्रमितको संख्या निरन्तर बढ्दो छ ।

भारतसँग सीमा जोडिएको जिल्ला कञ्चनपुरमा दैनिक ४/५ सयको हाराहारीमा नेपाली स्वदेश फर्कन थालेका छन् । भारतबाट फर्किएकामा समेत कोरोना देखिन थालेपछि थप जोखिम बढेको हो ।

अस्पतालमा कोरोना संक्रमितका लागि बनाइएका ५० बेड भरिएको अध्यक्ष कृष्णदत्त जोशी ‘बोक्सर’ले बताए । उनका अनुसार ६ बेड आईसीयू र सोही संख्यामा रहेका भेन्टिलेटरमा पनि कोरोनाकै बिरामी छन् । यस्तोमा अन्य रोगका बिरामीलाई आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आए समस्या आउनसक्छ ।

अध्यक्ष जोशीले भने, “६१ कोरोना संक्रमित उपचाररत छन् । बेड पूरै भरिएका छन् । अहिलेकै अवस्थामा हामी थप भर्ना गर्न सक्ने अवस्थामा छैनौँ । तर, बेड बढाउने प्रयास भइरहेको छ । कैलालीमा रेफर गर्न पनि सम्भव छैन । त्यहाँ पनि पूरै बेड भरिएका छन् ।”

उनका अनुसार अस्पतालमा पीसीआर परीक्षण गर्न आएका ९५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । अस्पतालकै १४ जना स्वास्थ्यकर्मी, कर्मचारी संक्रमित देखिएका छन् । त्यसले सेवा प्रवाहमा थप समस्या आएको छ । कोरोनाबाहेक अन्य बिरामीलाई आईसीयू र भेन्टिलेटर आवश्यक परे व्यवस्थापन गर्न समस्या भएको छ ।

अस्पतालले आठ आईसीयू बेड थप्न पहल गरेको छ । थप आईसीयू सञ्चालन गर्दा ३० देखि ४० जना जनशक्ति आवश्यक पर्ने अस्पतालको दाबी छ । सुदूरपश्चि प्रदेशमा निजी अस्पतालले कोरोना संक्रमितलाई भर्ना गर्न मानेका छैनन् । सबैजसो जिल्लाका सरकारी अस्पतालमा संक्रमितको चाप देखिएको बताइएको छ ।