काठमाडौं, असार ३० (ई–रैवार)
निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटार छाडेर निजी निवास जाने भएका छन्। प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार नियुक्त भएपछि ओली आज विहान ११ बजे निजी निवास भक्तपुरस्थित बालकोट जाने लागेका हुन् ।
प्रधानमन्त्री देउवा सपथग्रहण र पदभार ग्रहण गरेपछि निजी निवास बूढानिलकण्ठ गएका थिए। उनी अब केही दिनमा सरकारी निवास बालुवाटार सर्ने भएका छन्।
ओलीलाई भातृ संगठन युथ फोर्स र राष्ट्रिय युवा संघ नेपालले स्कर्टिङ गरेर बालुवाटारदेखि बालकोटसम्म पुर्याउने तयारी गरेको छ। एमालेका युवा संघ ईञ्चार्ज महेश बस्नेतका अनुसार आज ओलीलाई बालुवाटारदेखि बालकोटसम्म एमालेको भातृ संगठन युथ फोर्सले स्कर्टिङ गरेर पुर्याउने तयारी गरेको छ।
युवा संघ ईञ्चार्ज बस्नेतका अनुसार ओलीलाई बुधबार बालुवाटारदेखि बालकोटसम्म स्कर्टिङ गर्ने तयारी छ। दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालकोट पुर्याउने कार्यक्रम रहेको बस्नेतले बताए। मंगलबार क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्युँताइएको थियो।
सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि देउवा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा मंगलबार नियुक्त भएका छन् ।


