बाजुरा, भदौ २ (ई-रैवार)
बाजुरामा साउनको २५ गते रातिको अविरल वर्षाका कारण गएको बाढी र पहिरो प्रभावितलाई राहत वितरण गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले बाढी र पहिराबाट प्रभावित गौमुल गाउँपालिका–सिमका ५० परिवार र बडीमालिका नगरपालिकाका–२ घागरका ७५ परिवारलाई राहत वितरण गरेका हुन ।
गृहमन्त्री थापाले बाढी र पहिराबाट विस्थापित भएका १०० बढी परिवारलाई खाद्यान्नसहित अन्य सामग्री वितरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेकाअनुसार गौमुल गाउँपालिका–२ सिमका ५० परिवारलाई बाल्टिन, अन्य भाडाकुँडा, खाद्यान्नलगायत सामग्री नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो पीडितलाई वितरण गरिएको छ ।
मन्त्री थापासँग प्रतिनिधिसभाका बाजुरा सदस्य लालबहादुर थापा, पूर्वउद्योगमन्त्री तथा नेकपा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल र प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेलगायतले बाढी पीडितलाई प्रत्यक्षरुपमा भेटी राहत वितरण गरेको गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।
सङ्घीय सरकारका गृहमन्त्री थापाले बाजुरामा साउन २५ गते राति आएको अविरल वर्षाका कारण बाजुराका विभिन्न ठाउँमा बाढी र पहिराले क्षति पु¥याएको स्थानमा अनुगमन गरेका छन् ।
आज मन्त्री थापाले नेपाली सेनाको हेलिकप्टर गौमसल गाउँपालिका–२ सिम, बडीमालिका नगरपालिका–२ घागर र बुढीगङ्गा नगरपालिका २ र ३ को ताप्रीसेराको अवस्थाबारे जानकारी लिएका हुन् ।


