दार्चुला, साउन १३ (ई-रैवार)
दार्चुलामा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन् । दुहु गाउँपालिका–३ सल्लेखेतीमा मंगलबार ५० वर्षीय रामदत्त जोशी र उनकी पत्नी ४५ वर्षीया इन्द्रा बेपत्ता भएका हुन् ।
जोशी दम्पती मंगलबार बिहान पौने ५ बजेतिर खसेको पहिरोमा पुरिएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीका अनुसार पहिरो खसेको सूचना पाउना साथ स्थानीय ब्रह्मदेव प्रहरी चौकीको टोली घटनास्थल पुगेर बेपत्ताको खोजी गरिरहेका छन ।
प्रहरीका अनुसार घरमा सँगै रहेका जोशीका छोरा सुनील भने भागेर पुरिनबाट जोगिएका छन् । उनैले घटनाबारे प्रहरीलाई सूचना दिएका थिए ।
दार्चुला–तिंकर सडक भत्किएर घरमाथिबाट पहिरो गएको वडाध्यक्ष लालबहादुर बमले जानकारी दिए । उनका अनुसार अहिले घरको पर्खाल मात्रै देखिएको छ । पहिरोमा एउटा भैंसी र चारवटा बाख्रा पनि पुरिएका छन् ।


