काठमाडौं, कार्तिक १८ (ई-रैवार)
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरूले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही कारबाही गर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरूले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताएका हुन ।
बिहीबार नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीले नेपाल संवत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गर्ने बताएका हुन् ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘हाम्रा मन्त्रीहरूलाई जनताको पक्षमा काम नगरे पार्टीमा जस्तोसुकै ठूलो पदमा भए पनि कारबाही गर्ने भनिएको छ । जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्ने मान्यताबाट अगाडि बढेका छौं ।’
‘‘हाम्रा मन्त्रीहरूलाई जनताको पक्षमा काम नगरे जस्तोसुकै ठूलो पदको, पार्टीको भए पनि हामी कडा स्टेप चाल्नेमा छौँ अहिले । तपाईंहरूको साथ भयो भने जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्ने मान्यताबाट हामी अगाडी बढेका छौँ,’’ उनले भने ।
अध्यक्ष प्रचण्डले देशी-विदेशी शक्तिहरू माओवादी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको जिकिर गरे । माओवादीलाई चार टुक्रा बनाएर फुटाउँदा पनि प्रचण्ड जिउँदो रहुन्जेल माओवादी झन् जागेर आउने देखेर खासगरी प्रचण्डलाई नै तारो बनाउन खोजिएको उनको भनाइ छ ।
उनले भने, ‘‘अहिले पनि प्रतिक्रान्तिकारीहरू षड्यन्त्रमै छन् । प्रतिक्रियावादीहरू षड्यन्त्रमै छन् । देशी-विदेशी प्रतिक्रियावादीहरू कुनै न कुनै रूपले माओवादी आन्दोलनलाई के गरी कमजोर पार्ने, जति गरे पनि नहुने, उनीहरूले तारो बनाए तपाईंहरूलाई थाहा छ, उनीहरूको तारो भनेको माओवादी केन्द्र र त्यसको पनि मुख्य नेतृत्व । किनकि, पार्टी फुटाउँदा पनि केही सीप लागेन । पार्टी तीन टुक्रा, चार टुक्रा बनाउँदा पनि प्रचण्ड जिउँदै रहँदासम्म त यो आन्दोलन मर्ने रहेनछ, फेरि जागेर आउँदो रहेछ भन्ने अहिले देखियो । त्यसकारण अनेक खालका षड्यन्त्र छन् । तार्गेटचाहिँ बनाउन खोजिएको छ ।’’
तत्कालीन एमाले र माओवादी गठबन्धनको चुनावी घोषणापत्र राम्रो बनाएको तर सरकारको नेतृत्वले त्यसलाई कार्यान्वयनमा नलगिएको प्रचण्ड को भनाइ थियो । ‘हिजो घोषणापत्र हामीले नै बनाएको हो । राम्रा-राम्रा कुरा छन् । तर लागू गर्ने बेलामा ठीक उल्टो गरे,’ उनले भने ।
केन्द्रदेखि प्रदेश सरकारसम्ममा माओवादीले समावेशी समानुपातिक रूपमा मन्त्री बनाएको पनि प्रचण्डको भनाइ थियो । ‘केन्द्रमा सरकार बनाउँदा ६ जना मन्त्री हाम्रो भए । जसमा ३ महिला, ३ पुरुष, ५० प्रतिशत महिलालाई सहभागी गराइएको छ । यो सानो काम गरेको होइन । त्यसभित्र सहिदका छोराछोरी, आदिवासी, जनजाति, दलित, खसआर्य पनि देखिनुहुन्छ ।
समावेशी समानुपातिकताको यति राम्रो नमुना दिनसक्ने अरु कोही पार्टी छैन,’ उनले भने, ‘प्रदेश २ मा दुई मन्त्री छन् । जसमा एक महिला र एक पुरुष । अन्य प्रदेशमा पनि दलित, आदिवासी, जनजातिबाट समावेशी समानुपातिक मान्यताबाट मन्त्री बनाइएको छ ।’
केही समयपछि माओवादी एक नम्बरको पार्टी बन्ने विश्वास उनले व्यक्त गरे । माओवादी बलियो पार्टी नभए राष्ट्र दुर्घटनामा पर्ने खतरा रहेको उनले उल्लेख गरे ।


