सिंहदरबारमा विपक्षी दलहरुको छलफल सुरु, नयाँ सरकारको दाबी गर्ने तयारी

Spread the love

काठमाडौं, जेठ ७ (ई-रैवार) 

विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागी सिंहदरबारमा छलफल सुरु गरेका छ । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) बिच सिंहदरबारमा छलफल सुरु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् ।

विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि आधार प्रस्तुत गर्ने तयारी गरेका हुन् । काँग्रेसको संसदीय दलको कार्यालयमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समुह र एमालेको माधव नेपाल समुहलगायत छलफलमा जुटिरहेका छन् ।

संसद सचिवालयमा सांसदहरुको हस्ताक्षर फाइल गर्ने काम भइरहेको छ । काँग्रेस नेता रमेश लेखकले सरकारका लागि दाबी पेश गर्ने तयारी भइरहेको बताए । नेकपा माओवादी केन्द्रले पत्र तयार पारेर कांग्रेस संसदीय दलको कार्यालयमा पुगेको छ । अहिले त्यहाँ तीन दलका नेताहरुको बैठक बसरिहेको छ भने उता नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह पनि आन्तरिक छलफलमा छ । सो समूहले पनि पत्र तयार गरिरहेको स्रोत बताउँछ ।

सांसदहरुको हस्ताक्षर जुटाउने काममा एमाले नेतृ रामकुमारी, काँग्रेस नेता पूर्णबहादुर खड्का, रमेश लेखक पुष्पा भुषाल र माओवादी नेता देव गुरुङ र वर्षमान पुन खटिएका छन् । नेताहरुले नयाँ सरकारको प्रधानमन्त्री कसलाई अघि सार्ने भन्नेमा भने छलफल गरेर टुंग्याउने बताएका छन् ।