धनगढी, साउन ९ (ई-रैवार)
मुलुकमा थप १ सय ३३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ३३ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल १८ संख्या ३ हजार ७४ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा अझै ५ हजार ३ सय ८३ सक्रिय संक्रमित छन् । यसैगरी पछिल्लो २४ घण्टामा कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका ६ जना, मोरङका १, सप्तरीका ७ र सुनसरीका १ जनामा संक्रमण देखिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १९, सुनसरीका ३ र मोरङका १ जनामा संक्रमण देखिएको छ । बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनकुटाका १, सुनसरीका १ जनामा संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल भरतपुरमा चितवनका १ जना, नारायणी अस्पतालमा भएको परीक्षणमा बाराका १, सर्लाहीका १, पर्साका ३० जनामा संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा धनुषाका १ जना, शुक्रराज अस्पतालमा भएको परीक्षणमा काठमाडौंका ५ जना, पर्साका १ जना र सर्लाहीका १ जनामा संक्रमण देखिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा भएको परीक्षणमा चितवनका १, काठमाडौंका ५ जना र उदयपुरका १ जनामा संक्रमण देखिएको छ । यता, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका १ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा कास्कीका ४, लम्जुङका ३ जना, बागलुङका १ जना र तनहुँका १ जनामा संक्रमण देखिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा भएको परीक्षणमा नवलपरासी पूर्वका ४ जना, रुपन्देहीका ४ जनामा संक्रमण पुष्टि भएको छ । यता, भेरी अस्पतालमा बाँकेका २ जना, बर्दियाका २ जना र दाङका ४ जना, दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका ८ जना, सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा जाजारकोटका १ जना र कालिकोटका २ जनामा संक्रमण देखिएको छ ।
यता, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, हालसम्म १९ हजार ४ सय ४४जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ५ हजार ३ सय ८३ जना छन् । मन्त्रालयका अनुसार मुलुकभर ३ लाख ३५ हजार ८२ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।
कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४४ पुग्यो : स्वास्थ्य मन्त्रालय
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार वीरगञ्जमा कोरोना संक्रमित ८५ वर्षीया बृद्धाको मृत्युभएसँगै संख्या ४४ पुगेको हो ।
गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको आज बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार उनी मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् ।
साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा लगिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।


