काठमाण्डौ साउन १६(ई–रैवार): बिभिन्न कारणले रिक्त रहन गएका प्रतिनिधिसभा, प्रदेशसभा र पालिकाहरुमा मंसिरमा उप–निर्वाचन हुने सम्भावना देखिएको छ । रिक्त स्थानमा आगामी मंसिरमा उप–चुनाव गर्न निर्वाचन आयोग र मुख्य राजनीतिक दलहरुबीच सहमति भएपछि सम्भावना देखिएको हो । तीन तहमा रिक्त रहेका स्थानहरुमा एकै दिन निर्वाचन गर्नेगरी दलका नेताहरुसँग छलफल भएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए ।
आयोगका अनुसार देशभर प्रतिनिधिसभामा एक, प्रदेशसभामा तीन, स्थानीय तहमा प्रमुख चार र उपप्रमुखमा एक स्थान रिक्त छन, भने विभिन्न ३८ ओटा वडामा पनि वडाध्यक्ष छैनन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पद कार्यकाल सकिन ६ महिना बाँकी हुँदै रिक्त भएमा उप–निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । पालिकामा भने एक वर्षभन्दा बढी अवधि बाँकी रहेमात्रै उप–निर्वाचन हुने व्यवस्था छ ।
निर्वाचन आयोगले बिहीबार प्रतिनिधिसभा, प्रदेशसभा र पालिकामा प्रतिनिधित्व गरेका विभिन्न १८ दलका प्रतिनिधिसँग छलफल गरेको थियो । सोही छलफलमा आगामी मंसिरमा एकै दिन सबै तिर उप–निर्वाचन गर्ने गरी काम गर्ने विषयमा छलफल भएको आयोगका प्रवक्ता खरेलले बताए ।
मंसिरमा उप–निर्वाचन गर्ने विषयमा आयोग र दलका प्रतिनिधिबीच सहमति भए पनि निर्धारित मिति भने सरकारसँग परामर्श गरेपछि मात्रै तोकिने उनले बताए ।
पालिकाको उप–निर्वाचनको मिति तोक्ने अधिकार सरकारलाई रहेकाले सरकारले मिति तोक्ने र प्रदेश र संघीय उप–निर्वाचनको मिति तोक्ने अधिकार भने आयोगलाई रहेको प्रवक्ता खरेलले बताए ।
आयोग पहिलेदेखि नै रिक्त रहेका स्थानमा उप–निर्वाचनका लागि तयारी अवस्थामा रहेकाले जति बेला मिति तोकिए पनि चुनाव गराउन सकिने प्रवक्ता खरेलले बताए ।


