भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोड रुपैयाँको बजेट

भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोड रुपैयाँको बजेट
Spread the love

चितवन, असार। भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार १३ औं नगरसभाको अधिवेशनमा उपमेयर चित्रशेन अधिकारीले महानगरको बजेट प्रस्तुत गरेका हुन्।महानगरले आगामी वर्ष आन्तिरिक आय एक अर्ब ७५ करोड हुने प्रक्षेपण गरेको छ। अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रदेश सरकारको राजश्व बाँडफाँटबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, सडक बोर्ड नेपालबाट ३ करोड र बैंक मौज्दात १ अर्ब ६५ करोड रहने प्रक्षेपण महानगरको छ। साथै अन्तर सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब १० करोड रुपैयाँ रहने प्रक्षेपण गरेको अधिकारीले बताए।महानगरले चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका र क्रमागत एवम् वहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्नको लागि १ अर्ज ६५ करोड रुपैयाँ विनियोजन गरेको छ। वडास्तरबाटै कार्यक्रमहरु कार्यान्वयन हुनेगरी महानगरले सबै वडाहरुलाई २ करोड ७५ लाख रुपैयाँका दरले विनियोजन गर्ने प्रस्ताव गरेको छ। समपूरक र विशेष अनुदानअन्तर्गतका योजनाहरुको कार्यान्वयन गर्न समपुरक साझेदारी कोष स्थापना गरी कार्यान्वयनमा ल्याउनेगरी १० करोड रुपैयाँ छुट्टाएको छ।