काठमाडौं : सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारी समितिको बैठक आज बस्दै छ । आन्तरिक बिबादका कारण लामो समय देखी हुन नसकिरहेको तराई मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजबाट काठमाडौंमा बस्न लागेको हो ।
अध्यक्ष उपेन्द्र यादवले बिहान ११ बजे बस्ने गरी बैठक बोलाएका हुन् । जसपाको पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बस्न लागेको हो ।
बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता, स्थानीय तह निर्वाचन, पार्टीको विधान अधिवेशन, समसामयिक राजनीति परिस्थितिलगायत विषयमा छलफल हुने जनाइएको छ ।
एमसीसीलाई लिएर जसपा दुई धारमा छ । उपेन्द्र यादव पक्ष एमसीसीको विपक्षमा र डा.बाबुराम भट्टराई एमसीसीको पक्षमा छन् । यही कारण पार्टी फुटको समेत आशंका भइरहेका बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।
जसपाका प्रमुख सचेतक प्रमोद साहका अनुसार पार्टीले एमसीसीका विषयमा एउटै निर्णय लिने बताए । ‘जे निर्णय लिए पनि एउटै निर्णय लिन्छौं’ उनले भने ।
‘आजको बैठकमा एमसीसी, स्थानिय तह निर्वाचन र पार्टीको बिद्यान सम्मेलन गर्नेलगायत एजेन्डा तय भएका छन्,’ कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने, ‘साथै, समसामयिक राजनीतिक बिषयमा पनि छलफल हुनेछ ।’ उनका अनुसार पार्टी विभाजन भए पछि केन्द्रिय बिभाग देखी अन्य संरचना तय नभएकाले सो बारेमा पनि छलफल हुनेछ ।


