राप्रपा आज निर्वाचन आयोगमा दर्ता हुँदै, चुनाव चिन्ह हलो

राप्रपा आज निर्वाचन आयोगमा दर्ता हुँदै, चुनाव चिन्ह हलो
Spread the love

काठमाडौ, असोज ६  (ई–रैवार)

राष्ट्रिय प्रजातन्त्र पार्टी नामक नयाँ दल निर्वाचन आयोगमा दर्ता हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी नामक नयाँ दल मंगलबार  चुनाव चिह्न हलो र गाई अंकित झण्डा राखेर दल आयोगमा दर्ता हुने भएको हो ।

पार्टी दर्ताअघि बसेको कार्य सम्पादन बैठकले राप्रपा एकता महाधिवेसनको विधानलाई नै एकिकृत राप्रपाको अन्तरिम विधान मान्‍ने सहमति भएको वरिष्ठ नेता विक्रम पाण्डेले जानकारी दिएका छन् ।

राप्रपा अध्यक्ष कमल थापा र संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी नै एकीकृत पार्टीको अध्यक्ष रहनेछन् । कार्यसमिति ३२७ सदस्यीय हुने भएको छ । त्यस्तै, चुनाव चिह्न हलोमा सहमति जुटेको छ । पार्टीको झण्डामा भने गाई रहने भएको छ ।

चुनाव चिन्हको बारेमा टुंगो लगाउन सोमबार पनि कार्यसम्पादन समितिको बैठक बसेको थियो । हलो साविक राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चिह्न हो ।

पाण्डेका अनुसार एकता महाधिवेशन आगामी वैशाख २५–२८ गते विषयमा पनि सहमति जुटेको छ ।