कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

Spread the love

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले सोमबार (भोलि) दिउँसो २ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टी कार्यालयमा बस्ने गरी बैठकको सूचना सार्वजनिक गरेका हुन् । कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको पौडेलले बताए।

नयाँ निर्वाचित पदाधिकारी र सदस्यहरूले कार्यभार सम्हाल्नेबित्तिकै केन्द्रीय समितिको पहिलो बैठक बसेको थियो । १४ औं महाधिवेशनपछि दोस्रोपटक भोलि केन्द्रीय समिति बैठक बस्न लागेको हो।

काँग्रेस सभापति शेरबहादुर देउवाले पहिलो केन्द्रीय समिति बैठकपछि महाधिवेशनमा पराजित तथा निर्वाचनमा उम्मेदवारी नदिएका १३ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । मनोनयनसँगै काँग्रेसमा केन्द्रीय समिति सदस्यको संख्या १४८ जना पुगेको छ। विधानमा काँग्रेस केन्द्रीय सदस्य संख्या १६८ हुने व्यवस्था गरिएको छ । बाँकी संख्या मनोनयन हुन बाँकी छ ।

सत्तारूढ गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने तयारी गरेका छन्। रिक्त १९ पदका लागि राष्ट्रिय सभा निर्वाचन हुन लागेको हो।