जनकपुरधाम : धनुषाको पोर्ताहा पुलमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सडक अवरूद्ध गरेका कार्यकर्तालाई हटाउने क्रममा प्रहरीले गोली चलाउँदा करिब आधा दर्जन घाइते भएका हुन्।
धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार आइतबार बिहानैदेखि सडक जाम गरी बसेका जनमत कार्यकर्तामाथि प्रहरीले ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रु ग्यास प्रहार गरिएको हो ।
रबरको गोली लागेर जनमत पार्टीका सात जना कार्यकर्ता घाइते भएका छन् । प्रहरीको गोली लागेर नथु यादव, राम दयाल मण्डल, सञ्जय साह, विजय यादव र वैजनाथ साह घाइते भएका छन्। घाइतेमध्ये वैजनाथको टाउकामा गोली लागेको प्रहरीले जानकारी दिएको छ। उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधामा ल्याइएको जनमत पार्टीले जनाएको छ ।
डिएसपी बस्नेतका अनुसार घटनामा परि दुई प्रहरी घाइते भएका छन्। घाइते प्रहरी जवान विवेक कुमार साह र नारायण चौधरीको उपचार भइरहेको बस्नेतले जानकारी दिएका छन्।
प्रहरीले अवरूद्ध सडक खुलाउन पटक पटक आग्रह गर्दा पनि उनीहरूले नमानेपछि प्रहरीले बल प्रयोग गरेको डिएसपी बस्नेतले बताए ।
किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले गत पुस १५ गतेदेखि मधेशका जिल्लामा पूर्व पश्चिम राजमार्गमा चक्काजाम गर्दै आएका छन् । उनीहरुले चक्काजाम गर्दा प्रदेश २ का जिल्लामा प्रायः प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप हुँदै आएको छ ।


