नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक सकियो, के के गर्‍याे निर्णय ?

Spread the love

काठमाडौं : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक सकिएको छ। सानेपामा आज बसेको पहिलो बैठकले पाँचवटा निर्णय गरेर सकिएको हो ।

काँग्रेस पार्टी कार्यालय सानेपामा बसेको बैठकपछि महामन्त्री गगन थापाले बैठकले पाँचवटा निर्णय भएको जानकारी दिएका हुन । राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय बैठकले गरेको महामन्त्री थापाले बताए ।

त्यसैगरी दल दर्ताका लागि निर्वाचन आयोगमा सबै विवरण बुझाउने, अध्यावधिक गर्ने कामको जिम्मेवारी पार्टीको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय पनि गरिएको छ ।

बैठकले पार्टीलाई अझै सुदृढ एकता बनाएर लैजाने संकल्पसहितका पाँच निर्णय गर्दै सकिएको हो । बैठकले पार्टीको महाधिवेशनमा शुभेच्छा प्रकट गर्न आउने विभिन्न राजनीतिक दलका नेताहरू, महाधिवेशन सम्पन्न गर्न पार्टीका विभिन्न तहमा रहेर काम गरेका केन्द्रीय निर्वाचन समिति, सञ्चार माध्यमसहितलाई धन्यवाद दिने निर्णयसमेत गरेको छ ।

आजको बैठकमा नेपाली कांग्रेसका नेताहरूको वरियता क्रम तोकिएको छ। सभापति शेरबहादुर देउवाले नेताहरूको वरियता क्रम तोकेका हुन्। विधानअनुसार सभापतिलाई वरियता तोक्ने अधिकार हुन्छ।

वरियतामा देउवा पहिलो, रामचन्द्र पौडेल दोस्रो र कृष्ण सिटौला तेस्रो स्थानमा छन्। त्यसपछि पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री शशांक कोइराला, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु अर्जनुनरसिंह केसी, रामशरण महत र सुनील थापा रहेका छन् ।

त्यसपछिको वरियतामा पदाधिकारीहरू छन्। कांग्रेसमा सभापतिसहित १३ जना पदाधिकारी रहन्छन्। आजको बैठकमा शेखर कोइराला भने उपस्थित थिएनन्। कोइरालालाई २० नम्बरमा वरियतामा राखिएको छ। १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमात्रै रहेका कोइरालाको त्यतिबेलाको वरियता ३५ औं नम्बरमा थियो ।

देउवासँग कोइराला सभापतिमा पराजित भएका थिए। सभापतिमा पराजित हुने तर धेरै मत ल्याउने उम्मेदवार स्वतस् केन्द्रीय सदस्य हुने प्रावधान छ।वरियतामा धेरै पछाडि राख्ने थाहा पाएपछि कोइराला शनिबारको केन्द्रीय समिति बैठक र प्रमाण(पत्र वितरण समारोहमा सहभागी नभएको बताइएको छ।

१३ औं महाधिवेशनमा देउवासँग पराजित रामचन्द्र पौडेलको वरियता देउवापछि दोस्रो स्थानमा कायम गरिएको थियो । त्यसअघि १२ औं महाधिवेशनमा सुशील कोइरालासँग सभापतिमा पराजित भएका देउवाको वरियता पनि दोस्रो स्थानमा कायम गरिएको थियो ।

नेपाली कांग्रेसका एक पदाधिकारीका अनुसार यो वरियता स्थायी होइन । ‘पहिलो बैठक भएकाले आज यो वरियता मिलाइएको हो, अब एक समिति गठन गर्ने र समितिको सिफारिसका आधारमा वरियताक्रम तय हुन्छ’ उनले भने ।

गएको मंसिर २४ देखि २८ गतेसम्म भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनले सभापति देउवासहित १३४ जनाको केन्द्रीय समिति निर्वाचित गरेको छ । निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूले शनिबारै निर्वाचित भएको प्रमाणपत्र पनि ग्रहण गरेका छन् ।