काठमाडौं, जेठ २९ (ई-रैवार)
बागमती प्रदेशसभा बैठकमा एक प्रदेशसभा सदस्यले प्रधानमन्त्रीको नाम लिँदै संसदीय मर्यादाविपरीत असंवेदनशील अभिव्यक्ति दिएका छन्।
नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले शुक्रबारको प्रदेशसभा बैठकमा आफू प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाथुराम गोड्से बन्न तयार रहेको बताएका हुन्। नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए ।
आफ्ना धारणा राख्न ६ मिनेटको समय पाएका वैद्यले भने, ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ।’ उनले आवश्यक परे आफैँ पनि गोड्से बन्न तयार रहेको बताएका छन् ।
उनले यो पनि भने, ुकहिलेकाहीँ ट्याम्पुमा चढ्दा त्यहाँ बस्ने साथीहरूले कुराकानी गर्छन्, नेताहरूले देश यस्तरी बिगारे, उनीहरूलाई भेटे भने एक(एक गरी ठोकिदिन्थे। एक-एकलाई सिध्याइदिन्थेँ। यस्तो सुनेपछि विस्तारै आफूसँग भएको लोगो गोजीमा हाल्थेँ। अनि जुन गन्तव्यमा जानुपर्ने हो, त्यहाँभन्दा अगाडि नै ओर्लन्थेँ। अहिले देशको अवस्था त्यस्तै बनाइदिए।
उनले उपप्रधानमन्त्री राजेन्द्र महतोलाई नेपाली नागरिक हो कि होइन भनेर प्रश्नसमेत गरेका थिए। ुआफ्नो पार्टीको माधव नेपाल नअटाउने अनि नेपाली नागरिक पनि हो कि होइन, उहाँ चाहिँ अटाउने,ु उनले भने।
वैद्यले यस्तो अभिव्यक्ति दिंदा पनि प्रदेशसभामा न कसैले नियमापत्ती जनायो, न त सभामुखले नै रोके । संसदमा आपत्तीजनक वा अमर्यादित अभिव्यक्ति आए रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिन सक्छन् ।
आत्मालोचना गर्न कांग्रेस प्रवक्ताको निर्देशन
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यले संसदमा संयम गुमाएको टिप्पणी गर्दै आत्मालोचना गर्न निर्देशन दिएका छन् ।
‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न । आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन,’ शर्माले ट्वीट गरेका छन् ।
वैद्यको अभिव्यक्तिको सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ । उनले सार्वजनिक रुपमा यो अभिव्यक्ति फिर्ता लिन पनि आग्रह गरिएको छ ।
वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएको भन्दै प्रदेशसभा सदस्य अजयक्रान्ति शाक्य लगायतले उनलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।
वैद्य काठमाडौं क्षेत्र नं. ४ (क) बाट बाग्मती प्रदेशसभामा काँग्रेसबाट निर्वाचित सांसद हुन् । उनी पशुपति क्षेत्र विकास कोषको पूर्व कोषाध्यक्ष समेत हुन् ।


