माओवादी केन्द्र र नेकपा मसालबीच एकताको घोषणा : कम्युनिष्ट शक्तिबीच एकता आवश्यक- प्रचण्ड

Spread the love

काटमाडौं : नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता भएको छ ।शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा दुवै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो ।

माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ति जारी गर्दै एकता घोषणा गरेका हुन् । नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच विभिन्न चरणमा भएका छलफल र सम्वादपछि उक्त एकता भएको प्रचण्ड र लम्सालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच वार्ता र संवादका दौरानमा नेकपा मसाल सम्पर्क केन्द्रले नेपालको राजनीतिक परिवर्तनमा मुख्य भूमिका अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादी आन्दोलन कै रहेको तथ्यलाई स्वीकार गर्दै वर्तमान राजनीतिक सैद्धन्तिक प्रश्नहरुको साथै संगठनात्मक प्रश्नमा पनि मुलत समान दृष्टिकोण निर्माण भएको छ’, प्रचण्ड र लम्सालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एकता घोषणा कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा चलिरहेको प्रतिक्रान्तिको षड्यन्त्रलाई परास्त गर्न कम्युनिष्ट शक्तिबीच एकता आवश्यक भएको बताएका छन्। 

एकतासभामा अध्यक्ष दाहालले प्रतिक्रियावादीले जनसङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयास गरिरहेको आरोप लगाए। “युद्ध र आन्दोलनबाट परास्त भएका तत्व र प्रतिगमनकारीले गणतन्त्रलाई उल्टयाउने षडयन्त्र गरिरहेका छन्”, उनले भने। परिवर्तनका पक्षधर, क्रान्तिकारी र वामपन्थी शक्ति एकताबद्ध भएर अगाडि जाने गरी मोर्चाबन्दी हुँदै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताको बलिदानबाट प्राप्त उपलब्धि कुनै पनि हालतमा उल्टिन नदिइने बताए।

“अहिले पनि ढुक्क हुने अवस्था छैन, षडयन्त्र जारी छ”, उनले भने, “जनता र राष्ट्रका पक्षधर, क्रान्तिकारी शक्तिले एकजुट भएर प्रतिवाद गर्न जरुरी छ।” इमान्दार कम्युनिष्ट बीचको बलियो एकताले नै प्रतिक्रान्ति विरोधी आन्दोनलको नेतृत्वको भूमिका खेल्न सक्ने उनको भनाइ थियो। 

कार्यक्रममा नेकपा मसाल सम्पर्क केन्द्रका संयोजक लोकेन्द्र लम्सालले वैज्ञानिक समाजवाद स्थापना गर्न आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकताबद्ध भएको बताए। जनपक्षीय शक्ति अलगअलग भएर जनताको अपेक्षा पूरा हुन नसक्ने भन्दै उनले जनकाङ्क्षा पूरा गर्न माओवादी विचार र नेतृत्वबाट मात्र सम्भव भएकाले आफूहरु एकता प्रक्रियामा आएको उल्लेख गरे।