काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको चुनाव आगामी वैशाख १४ गते गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा आयोगका पदाधिकारीहरुले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरेको हो ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज प्रधानमन्त्री देउवालाई भेटेर सबै स्थानीय तहको चुनाव ०७९ वैशाख १४ गते बुधबारका लागि तोक्न उपयुक्त हुने सुझाव दिएका हुन् । तर, कुनै कारण एकैदिन निर्वाचन गर्न सम्भव नभए पहिलो चरणको ०७९ वैशाख १४ गते र दोस्रो चरणको वैशाख २२ गते गर्न सकिने जानकारी प्रधानमन्त्रीलाई गराइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।
आयोगकाअनुसार मौजुदा कानुन बमोजिम स्थानीय तहको निर्वाचन आगामी ०७९ वैशाख महिनामा गर्नुपर्ने हुन्छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम ०७९ जेठ ५ गते स्थानीय तहका पदाधिकारीहरूको पदावधि समाप्त हुने आयोगले जनाएको छ ।
संविधानको धारा २२५ बमोजिम कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ । कार्यकाल सकिएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।
कार्यकाल समाप्त भएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानूनी व्यवस्था नभएकाले वैशाखमा चुनाव गर्न उपयुक्त हुने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । जवाफमा प्रधानमन्त्री देउवाले दलहरुसँग छलफल गरेर आयोगको प्रस्ताव अघि बढाउने बताएका छन् ।
भोटिङ मेसिनको प्रयोग गर्ने प्रस्ताव
आयोगले स्थानीय तहको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्ने पनि प्रस्ताव गरेको छ ।
जवाफमा प्रधानमन्त्री देउवाले राजनीतिक दलहरुको समहति खोज्नुपर्ने र सबै क्षेत्रहरुमा नभएपनि निश्चित क्षेत्रमा भोटिङ मेसिन प्रयोग गर्दै जाने बताएका छन् ।
निर्वाचन आयोगका अनुसार १७ मंसिरदेखि चलिरहेको मतदाता नामावली संकलनका ५ लाख ७७ हजार ६६९ मतदाता थपिएका छन् । यो कार्यक्रम पुस १९ गते सकिनेछ ।


