प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटको प्रतिस्थापन विधेयक आजै पास गर्ने सरकारी तयारी

प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटको प्रतिस्थापन विधेयक आजै पास गर्ने सरकारी तयारी
Spread the love

काठमाडौं, भदौ २९ (ई-रैवार)

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठक बोलाइएको हो ।

दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा बजेटको प्रतिस्थापन विधेयक पास गर्ने सरकारी पक्षको तयारी छ । तर, त्यसलाई जसरी पनि रोक्ने रणनीति नेकपा एमालेले अख्तियारी गरेको छ ।

सरकारले गत शुक्रबार मात्र प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको थियो । एमालेका सांसदको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयक ल्याएका थिए । त्यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेट वर्तमान सरकारले थपघट गरेको छ ।

तत्कालीन सरकारले अध्यादेश मार्फत ल्याएको बजेट ३ साउनमा संसदमा पेश भएको थियो । २५ भदौमा प्रतिस्थापन बजेट ल्याइयो । संसदमा अध्यादेश पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित हुनुपर्छ । अर्थात भदौ ३० भित्र पास गरिसक्नुपर्ने दबाब छ । र, राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

नेकपा एमालेले भने लगातार संसद बैठकमा नाराबाजी गर्दै आएको छ । संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आयोजना गरे पनि एमालेले भने बहिष्कार गरेको थियो ।

एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ । उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरेको छ ।