नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, पछिल्लो २४ घण्टामा ३ सय ३८ संक्रमित थपिए

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, पछिल्लो २४ घण्टामा ३ सय ३८ संक्रमित थपिए
Spread the love

 

धनगढी, साउन २६  (ई-रैवार)

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्याङ्क अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ३८ जना संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ ।

सोमबार देशैभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ३८ जना रहेको उनले जानकारी दिए । कोरोना निको हुनेको संख्या १६ हजार ४ सय ९३ रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए । आज देशैभरका विभिन्न क्वारेन्टिनमा १० हजार ७ सय ५९ जना रहेका मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा आज थप ६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज थप ६ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, नेपाल प्रहरी अस्पताल र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा आज थप ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भेरी अस्पतालमा भएको परीक्षणमा कैलालीका २ जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार नेपाल प्रहरी अस्पतालमा भएको परीक्षणमा अछामका १ जनामा पनि कोरोना देखिएको छ।

यता सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ३ जनाको कोरोना परीक्षण भएकोमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ का १९ र २२ बर्षीय युवकमा संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा भने १ जनामा संक्रमण देखिएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भुषालले १ सय ७९ जनाको कोरोना परीक्षण भएकोमा बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्वर १ का १ पुरुषमा संक्रमण पुष्टि भएको बताए ।

यो संगै सुदूरपश्चिममा कोरोना संंक्रमितको संख्या ४ हजार ९ सय ४१ पुगेको छ । सबैभन्दा बढि कैलालीमा १ हजार २ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ । डोटीका ७ सय ९२, अछाममा ७ सय ३०, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कञ्चनपुरका ५ सय ७५, डडेल्धुराका ३ सय १२ जना, बैतडीका २ सय ९८, बझाङका २ सय ९५ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशमा ४ हजार बढि संक्रमित निको भएर घर फर्किसकेका छन् भने ९ जनाको मृत्यु भएको छ।