विप्लव समूहको बन्दले सर्वसाधारणलाई सास्ती, बन्द गराउन नेकपाका स्वयंसेवक परिचालन

Spread the love

धनगढी कार्तिक ३० (ई-रैवार)

नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’समूहको नेपाल बन्दको आशिंक प्रभाव देखिएको छ। विप्लव समूहको नेकपाले नेपाल सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आज नेपाल बन्दको घोषणा गरेको हो ।

आज विहानैदेखि सार्वजनिक सवारीहरु चल्न सकेका छैनन्। नेपाल बन्दका कारण बिहानैदेखि सर्वसाधारणले सास्ती पाएका छन् । नीजि सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु चाहिँ सडकमा निर्वाध गुडिरहेका छन्। नेकपाका अनुसार आजको बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी, दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा भने खुल्ला छन्।

त्यसबाहेक बजार व्यवसाय, विद्यालय कलकारखासुदूरपश्चिममा नेपाल बन्दका लागि नेत्रविक्रम चन्द समूहको नेकपाले स्वयंसेवक परिचालन गरेको छ। यातायात लगायत अरु सबै क्षेत्र बन्द गरिएको छ। सुदूरपश्चिममा मेला जात्राको समय भएकाले मेला जात्रामा आवागमन गर्दा भने रोक नलगाउने नेकपाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतीक विष्टले सार्वजनिक सवारी भने आशिंक रुपमा चलिरहेको बताए। ‘लामो दुरीका गाडीहरु छुटी रहेका छन्’ उनले भने, ‘चिसापानीमा रोकिएका होलान, स्कटिङ गरेर पठाइन्छ।’

सुदूरपश्चिम प्रदेशमा भने नेपाल बन्दका लागि नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले स्वयंसेवक परिचालन गरेको छ। स्वयंसेवक लेखिएका राता जर्सीमा उनीहरू ठाउँठाउँमा नाराबाजी गर्दै बन्द सफल पार्न दवाव दिइरहेका छन्। प्रदेशको अस्थायी राजधानी धनगढीमा बन्दको प्रभाव देखाउन उनीहरूले नाराबाजी गरिरहेका छन्।

प्रहरी नायव उपरीक्षक बिष्टले बन्दले आम दैनिकीमा प्रभाव पारेको बताएका छन् । विष्टका अनुसार हालसम्म कुनै उच्छृंखल गतिविधि भएको छैन। बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ । चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो देखिएको छ ।  

नेपाल बन्दका कारण कञ्चनपुरको जनजीवन पनि बिहानैदेखि प्रभावित छ। बजारमा अटोरिक्सा र मोटरसाईकल फाट्टफुट्ट चलेका छन्। यहाँबाट लामा दुरीका सवारीसाधन छुटेका छैनन्। कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर वमका अनुसार बजार आंशिक रूपमा मात्रै खुलेका छन्।