काठमाडौं, कार्तिक २७ (ई-रैवार)
नेपाली कांग्रेसका रोकिएका वडा अधिवेशनहरू आजबाट शुरू भएका छन्। कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संशोधित कार्यतालिका अनुसार शनिबारदेखि बाँकी अधिवेशन प्रक्रियाहरू सुरु हुने भएका हुन् ।
निर्वाचन समितिका अनुसार क्रियाशील विवादलगायतका विविध कारणले रोकिएका डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा र रौतहटमा वडा अधिवेशन हुँदैछ । त्यस्तै शनिबार नै सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने लागेको छ ।
केन्द्रीय निर्वाचन समितिले संसोधनसहित जारी गरेको नयाँ कार्यतालिका अनुसार आज १२ जिल्लामा वडा अधिवेशन गर्ने भनिएको छ । तर, सिन्धुपाल्चोक र सर्लाही जिल्लाको अधिवेशन भने रोकिएको छ ।
सर्लाहीमा पार्टीका निर्वाचन अधिकृतले राजिनामा दिएका कारण वडा अधिवेशन हुनेमा अन्योल कायमै छ । समितिका संयोजक महादेवप्रसाद यादवले भने अर्को निर्वाचन अधिकृत पठाएर भए पनि अधिवेशन प्रारम्भ गर्ने जानकारी दिएका छन् ।
क्रियाशील सदस्यता विवाद टुंग्याउन ढिलाइ भएका कारण प्रदेश दुईका आठसहित १३ जिल्लामा वडा अधिवेशन ढिलो गरी सुरु भएको हो । समितिले यही कात्तिक ११ गते प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार बाँकी रहेका गाउँ-नगर पालिका अधिवेशन कात्तिक ३०, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर ३, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक क्षेत्रमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर छ, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन मङ्सिर १० गते हुनेछ ।
कांग्रेसको ४६ जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको छ भने हिमाली १३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । कार्यतालिका अनुसार मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुनेछ। कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।


