काठमाडौं, कार्तिक २७ (ई-रैवार)
नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयन गर्दैछ । महाधिवेशनका लागि एमालेका आठ लाख सङ्गठित सदस्यले आज देशभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि चयन गर्ने लागेका हुन ।
देशभरबाट आज यही मंसीर १०, ११ र १२ गते चितवनमा हुने महाधिवेशनका लागि १‚९९९ जना प्रतिनिधि छनौट हुनेछन्। त्यसरी छानिएका प्रतिनिधिले आगामी मङ्सिर १० देखि १२ गते चितवनमा हुने महाधिवेशनमा अध्यक्षसहित २२५ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछन् ।
यसबीचमा हिजो गण्डकी प्रदेश कमिटिलगायत केही जिल्लामा सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छानिएका छन् । एक निर्वाचन क्षेत्रबाट पार्टीका एक हजार दुई सदस्य बराबर तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था एमालेले गरेको छ । जसमा एक जना महिला अनिवार्य गरिएको छ। यसअघि एक हजार पाँच सय सदस्य बराबर तीन जना छनोट गर्ने व्यवस्था रहेको थियो ।
एक हजार दुई सयभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रमा थप प्रतिनिधि छनोट गर्ने व्यवस्था छ। यस अनुसार, आठ सय जना बराबर एक जना महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ।
नेकपा एमालेले यस पटकको महाधिवेशन सहमतिको महाधिवेशन बनाउने बताउँदै आएको छ । त्यसका लागि प्रतिनिधि छनोटदेखि नै सहमति खोज्न कतिपय नेताहरूले जोड दिँदै आएका छन् । अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार साँझ महाधिवेशन प्रतिनिधि छनोट गर्दा उच्च समझदारी अपनाउन आव्हान गरेका छन् ।
सुदूरपश्चिम लगायतका केही स्थानमा भने पार्टी सदस्यताको विवाद छ । ती स्थानमा जथाभाबी सदस्यता वितरण गरेको भन्दै नेताहरूले असन्तुष्टि जनाइरहेका छन् । तीनवटा विधिबाट महाधिवेशन प्रतिनिधि छान्ने व्यवस्था गरेको एमालेले कतिपय जिल्लामा यसअघि नै सर्वसम्मत प्रतिनिधि चयन भइसकेको जनाएको छ ।
हिजो शुक्रबार मात्रै महाधिवेशन मूल व्यवस्थापन कमिटीले नारा र लोगो सार्वजनिक गरेको थियो। शुक्रबारै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भिडियो सन्देश जारी गर्दै यो महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्ने बताएका छन् ।
महाधिवेशनले पार्टी निर्माण, विस्तार र एकता प्रक्रियालाई नयाँ उचाइ प्रदान गर्ने भन्दै ओलीले करिब तीन वर्षसम्म निष्क्रिय र अस्तव्यस्त अवस्थामा रहेका पार्टी सङ्गठन अहिले जुर्मुराउँदै र कमिटीमा नयाँ जीवन सञ्चारित हुँदै गएकोसमेत बताएका छन् ।


