काठमाडौं, कार्तिक १८ (ई-रैवार)
नेकपा (एकीकृत समाजवादी)को १० वटा निर्णयहरू गरेको छ । केन्द्रीय सचिवालयको चौथो बैठकले विभिन्न पाँच विभाग गठन सहित १० वटा निर्णयहरू गरेको हो ।
बैठकले पार्टी केन्द्रीय कमिटीको चौथो बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा विवादबारे नेकपा (एकीकृत समाजवादी)ले सत्ता गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ। न्यायपालिकामा देखापरेको समस्याप्रति गम्भीर रूपमा ध्यान दिई उपयुक्त निकास निकाल्न पाँच दलीय गठबन्धनमा छलफल गर्ने एकीकृत समाजवादीले निर्णय गरेको हो।
नेकपा एकीकृत समाजवादीले पार्टीमा आउन चाहेका राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । महासचिव बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।
पार्टीको केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते काठमाडौंमा गर्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पुर्याएको क्षतिको मर्मत कार्य छिटो भन्दा छिटो सम्पन्न गरी काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
एकीकृत समाजवादीले सरकारको कामलाई अझै प्रभावकारी बनाउन गठबन्धनमा छलफल गर्ने, पार्टीबाट सरकारमा पठाइएका मन्त्री तथा मुख्यमन्त्रीले पार्टीको नीति निर्देशन अनुसार प्रभावकारी रुपमा काम गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै मन्त्री र मुख्यमन्त्रीको सल्लाहकारको नियुक्ति, सचिवालयको गठन गर्दा पार्टीसँग सल्लाह गरेर गर्ने, राजनीतिक नियुक्ति गर्दा केन्द्रमा राजकीय मामिला विभागको सिफारिसका आधारमा केन्द्रीय सचिवालयले निर्णय अनुसार गर्ने र प्रदेशमा पार्टी अध्यक्षको सहमति लिएर प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र मुख्यमन्त्रीको निर्णय अनुसार काम गर्ने निर्णय पनि गरेको उपमहासचिव तुलाधरले जानकारी दिए ।


