कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा पदबाट राजीनामा, कांग्रेस नेतृत्वमा सरकार बन्ने

Spread the love

सुर्खेत, कात्तिक १५ (ई-रैवार)

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । सोमबार मुख्यमन्त्री शाहीले प्रदेशवासीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सरकारको नेतृत्वमा आलोपालो गर्न भएको सहमति कार्यान्वयन गर्ने अन्तिम दिन आज मुख्यमन्त्री शाहीले राजीनामा घोषणा गरेका हुन्।

२०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री शाहीले ३ वर्ष ८ महिनापछि राजीनामा दिएका हुन् । सोमबार  प्रदेशवासीलाई सम्बोधनका क्रममा उनले आफू नेतृत्वको सरकारले गरेका कामहरूको विवरण प्रस्तुत गरेका थिए ।

“सहमतिअनुसार सत्ता गठबन्धन दलहरूबीच समन्वय¸ सहकार्य र सह‑अस्तित्वको आधारमा अघि बढिरहेका छौँ । यही आधारमा मलाई साथ सहयोग दिने दल तथा व्यक्तिहरूलाई धन्यवाद दिँदै इमानको राजनीति स्थापित गराउन आजैका मितिबाट लागु हुने गरी सत्ता गठबन्धनमा रहेको दल नेपाली कांग्रेसलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न चाहन्छु । नयाँ बन्ने सरकारलाई हाम्रो दलको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउँदछु,” सम्बोधनका क्रममा शाहीले भनेका छन् ।

वैशाख २ गते नेपाली कांग्रेस र हाल सरकार सञ्चालन गरिरहेको माओवादी केन्द्रबीच कर्णाली प्रदेशमा सरकार आलोपालो सञ्चालन गर्ने सहमति भएको थियो। बढीमा कात्तिक १५ गतेसम्म माओवादीले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले नेतृत्व लिने सहमति भएको थियो।

मुख्यमन्त्री शाहीको राजीनामा घोषणासँगै कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन्। मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि आफूले राजीनामा दिएको बताए । आफूले दलहरुबीच भएको सहमति अनुसार नयाँ सरकारका गठनका लागि मार्गप्रशस्त गरेर इमानको राजनीति गरेको पनि दावी गरेका छन् ।