विराटनगर, कात्तिक १५ (ई-रैवार)
प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष पाँच दलीय गठबन्धनले सरकार गठन गर्न आजै मुख्यमन्त्रीमा दाबी पेस गरेको हो ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेलगत्तै पाँच दलीय गठबन्धनका तर्फबाट राजेन्द्र राईले ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।
सोमबार दिउँसो मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि राईलाई एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मुख्यमन्त्रीमा समर्थन गरेका छन् ।
गठबन्धनले सरकारको नेतृत्वमा दाबी पेस गरेपछि मंगलबार दिउँसो शपथग्रहण गराइने भएको छ । मंगलबार सानो आकारको मन्त्रीमण्डल बनाउने गठबन्धनको तयारी छ ।
मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिए लगत्तै प्यासीले मंगलबार दिउँसो १ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका थिए ।


