ओलीलाई प्रचण्ड अर्को आरोप : ‘ज्ञानेन्द्रका मान्छेहरुसँग भेटेर मौका आयो भने गणतन्त्र उल्ट्याउने भनेछन्’

Spread the love

काठमाडौँ, कात्तिक १५ (ई-रैवार)

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागिपरेको आरोप लगाएका छन् । चितवनबाट काठमाडौं आएका अध्यक्ष प्रचण्डले ओलीमाथि अर्को आरोप लगाएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन पुगेर ओलीमाथि बालुवाटारमा करोडौंको बिलासी समान किनेको आरोप लगाए, लगत्तै ओलीले खण्डन गरेका थिए ।

सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागिपरेको आरोप लगाएका हुन् ।

प्रचण्डले एमाले अध्यक्ष ओलीले बारम्बार लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक मन नपरेको बताउने गरेको बताए । उनले अघि भने, ‘अस्ति त ज्ञानेन्द्रका केही मान्छेहरुसँग भेटेर मलाई जिन्दगीभर गणतन्त्र मन परेकै होइन । बाध्य भएर गरेको हो । मौका आयो भने उल्ट्याउने हो भनेको भन्ने सूचना मैले पाएँ ।’

अध्यक्ष प्रचण्डले माओवादी शिथिल हुँदा, कार्यव्यस्ततामा हुँदा प्रतिगमनकारी शक्ति गणतन्त्र नै सक्न लागिपरेको आरोप लगाएका हुन् । उनले पार्टी अब नयाँ संकल्पसहित पुनः अघि बढ्नुपर्ने बताए । उनले एमाले अध्यक्ष ओलीले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर आफूलाई पहिल्यैदेखि गणतन्त्र मन नपरेको र मौका मिले उल्ट्याइदिने बताएको आरोप लगाए ।

“हिजो हामीसँग बाध्य भएर सम्झौता गर्नेहरुले सोचे अब माओवादी सकिन थालेको छ, यही बेलामा यो संविधान पनि च्यात्ने, संघीय लोकतान्त्रिक गणतन्त्र पनि घाँडो हो, यसलाई पनि हटाउनु पर्छ,” उनले भने, “धर्म निरपेक्ष पनि ठिक छैन । समावेशी समानुपातिक भनेर दलित, महिला, जनजाती, मधेशी, मुस्लिम सबैलाई राज्य संयन्त्रमा तलदेखि माथिसम्म प्रतिनिधित्व गराउने यो माओवादी हो ।”

गत सालदेखि, नयाँ खालको एउटा कम्युनिष्ट नामधारी प्रतिक्रियावादी, प्रतिगमनकारी, प्रतिक्रान्तिकारीको बिरुद्ध लड्न बाध्य भइयो हामी उनले भने, ओलीले सधैँ भन्थे यो संघीय लोकतन्त्र पनि मन पर्दैन, गणतन्त्र पनि मन परेको छैन, मलाई यो समावेशी, समानुपातिक भनेर दलित, महिलालाई कोटा छुट्याएको पनि मन परेको छैन। अस्ति त भनेछन्, ज्ञानेन्द्रका केही मान्छेहरुसँग भेटेर भने भन्ने सूचना मैले पाएँ । मलाई जिन्दगीभर यो गणतन्त्र मन नै परेको होइन, बाध्य भएर गरेको हो, त्यसकारण मौका आयो भने यो उल्टाइदिन्छु भनेको सूचना पाएको छु ।”

फेरि विघटनवादका विरुद्ध लड्न तयार रहेको बताउँदै अध्यक्ष प्रचण्डले नयाँ जनयुद्धका लागि हतियार बोकेर नभइ जनतालाई साथमा लिएर संघर्ष गर्न माओवादी तयार रहेको बताए।

आफ्नो पार्टीले धेरै राम्रा काम गरे पनि बिक्री गर्न नजानेको बताए । उनले माओवादीलाई पुनः नेतृत्त्व दिलाउन अब नेता कार्यकर्ताहरु जनताको घरदैलोमा गएर काम गर्नुपर्ने अध्यक्ष प्रचण्डले बताए ।